Canmandu
संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटा फुटबल क्लबले २२ औं संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ।

पोखरा रङगशालामा शनिबार सम्पन्न फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै संकटाले दोस्रोपटक उपाधि जितेको हो।

संकटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो। विजेता टोलीले १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता भुटनिज युथ क्लबले ६ लाख रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

संकटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक–एक गोलको योगदान गरे।

उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरेका थिए। 

खेलको सातौं मिनेटमा सुरजज्यू ठकुरीको गोलमा संकटाले सुरूआती अग्रता लिएको थियो। यसैगरी खेलको ३५औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाए।

भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७ औँ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो। 

खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन। निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर ११७औँ मिनेटमा संकटाका सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संकटाका सुनिल बल घोषित भए। उनले एलजीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे। उत्कृष्ट मिडफिल्डरमा संकटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा संकटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड संकटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा संकटाका सल्यान खड्गी भए। उनीहरू सबैले जनही २५ हजार पुरस्कार प्राप्त गरेका थिए।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update