Canmandu
भागबन्डाको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा

शक्ति बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले मस्यौदा बुझाएलगत्तै शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु छलफलमा छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने बालुवाटारबाट बाहिरिएका छन् ।

सात दलीय गठबन्धन सरकारमा केन्द्रमा मन्त्रालय बाँडफाँडदेखि प्रदेश सरकार गठनको विषय मिलाउन बाँकी छ ।

प्रदेश १ मा सरकार गठनका लागि आह्वान भएको समय भोलि (आइतबार) सकिँदै छ । सत्ता गठबन्धनभित्र तोकिएको समयसीमा भित्रै सहमति जुटाउने प्रयास भइरहेको हो ।

प्रदेशमा पनि केन्द्रमा जस्तै गठबन्धनमा सहभागी दलहरुको समझदारीको आधारमा सरकार बन्ने नेताहरुले बताउँदै आएका छन् । यद्यपि, कुन प्रदेशमा कसको नेतृत्वमा नयाँ सरकार गठन हुने भन्ने विषयमा सत्ता गठबन्धन टुंगोमा पुग्न सकेको छैन । भोलि बिहानसम्ममा शक्ति बाँडफाँडको टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

सात प्रदेशमा एमालेले चार प्रदेशको नेतृत्वमा दाबी गरेको छ भने मधेस प्रदेशमा जनमत पार्टी र जसपाले दाबी गर्दै आएका छन् । कर्णाली र सुदूरपश्चिममा माओवादीले दाबी गरेको छ भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको अवस्था छ । 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update