Canmandu
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश एकको मुख्य मन्त्रीमा नियुक्त  भएका छन्।

प्रदेश प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि एमाले संसदीय दलका नेता कार्कीले प्रदेश १ प्रदेशसभाको कुल सङ्ख्याको बहुमत सङ्ख्याको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख खापुङसमक्ष पत्र बुझाएका थिए।

एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ र जनता समाजवादी पार्टी (जसपा) का एक गरी ६० सदस्यको हस्ताक्षरको पत्रसहित मुख्यमन्त्रीमा उनले दाबी गरेका थिए।

324503456_1193384478215027_2668465269797491854_n1673191794.jpg

प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता कार्की, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्गवो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षरसहित उक्त पत्र बुझाइएको थियो।

लामो समय एमालेको विद्यार्थी राजनीतिमा सक्रिय  उनी  प्रदेश १ को चौथो मुख्यमन्त्री नियुक्त भएका हुन्।

२०२१ साल असोज ११ मा  झापा गौरादह ३ मा जन्मेका कार्की स्कुल तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गरेका नेता हुन्। महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आईएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थीसमेत रहेका कार्की कानूनमा स्नात्तकोत्तर हुन्।

एमाले अखिलको क्याम्पस प्रारम्भिक कमिटीबाटै सांगठनिक काम गरेका कार्की अखिलको केन्द्रीय उपाध्यक्ष हुँदा शेरधन राई केन्द्रीय सदस्य थिए। कार्की २०५५ सालमा अखिलको अध्यक्ष हुँदा निवर्तमान मुख्यमन्त्री राजेन्द्र राई उनकै कमिटीमा महासचिव थिए। तर, कार्कीभन्दा अघि नै शेरधन राई र राजेन्द्र राई प्रदेशको मुख्यमन्त्री बने।

नेपाल ल क्याम्पसको स्ववियु सभापति हुँदै अखिल अध्यक्ष भएर विद्यार्थी राजनीतिबाट बिदा भएका उनी २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट  केन्द्रीय सदस्य बनेका थिए।

कार्कीले २०७१ देखि २०७३ सम्म एमाले मेची अञ्चल समन्वय कमिटीको इन्चार्जका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। २०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित भएपछि  स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा काम गरेका थिए।

सौराहामा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए। अहिले पार्टीको प्रदेश सहइन्चार्ज रहेका उनी प्रदेश सभामा दोस्रोपटक निर्वाचित भएका हुन्। कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किनेबित्तिकै प्रदेश सरकारको नेतृत्वमा एमाले दाबी बढेको थियो। प्रदेशको सबैभन्दा ठूलो दल भएको तथा ओलीका निकट मानिने कार्की संसदीय दलमा सर्वसम्मत चुनिएपछि उनको मुख्यमन्त्री बन्ने बाटो खुला भएको थियो।झापा गौरादहको जनता माध्यमिक विद्यालयमा छँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राजनीतिमा होमिएका कार्की कुनैबेला संघीयताकै विरोधी थिए। अध्यक्ष केपी शर्मा ओलीनिकट उनी संघीयताबारे असन्तोष प्रकट गर्नेमध्येका एक थिए। तर, २०७४ पछि प्रदेश मन्त्रिपरिषदमा बसेर काम गरेपछि उनी संघीयता बलियो बनाउनु पर्ने वकालत गर्न थालेका नेता हुन्।

प्रदेशको चौथो मुख्यमन्त्रीमा एमालेका कार्कीको सत्तारोहण हुँदा प्रदेश १ मा हालसम्म सबै मुख्यमन्त्री एमाले पृष्ठभूमिबाटै भएको इतिहास पनि बनेको छ।

शेरधन राई र भीम आचार्य एमालेबाट मुख्यमन्त्री बनेको प्रदेशमा राजेन्द्र राई पनि मुख्यमन्त्री बने। लामो समय एमाले राजनीतिमै रहेका राई मुख्यमन्त्री हुने बेलामा एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी) मा थिए।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नवनियुक्त मुख्य मन्त्री कार्की पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए।  ५८ वर्षीय कार्की अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई यही पुस २५ सोमबार दिउँसो २ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की

324567901_3505777902983515_2629756922909040549_n1673191814.jpg

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताएका छन्।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताए। वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उनले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पारे। उनले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिए।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update