Canmandu
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्।

प्रचण्डलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गरेका १२ मध्ये १० दल र तीन स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।

विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ जनाले मत दिएका थिए। विश्वासको मतको विपक्षमा २ सांसद उभिए। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विपक्षमा रहे।

आजको संसदमा जम्मा २७० सांसद उपस्थित थिए। संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुई तिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे।

संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।

प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिलेको छ। अर्थात् उनको पक्षमा पूरै संसद उभिएको छ। उनलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ।

कुन दलबाट कति मत

नेपाली कांग्रेस ८५
नेकपा एमाले ७९
नेकपा (माओवादी केन्द्र) ३२
राष्ट्रिय स्वतन्त्र पार्टी २०
राष्ट्रिय प्रजातन्त्र पार्टी १३
जनता समाजवादी पार्टी नेपाल १२
नेकपा (एकीकृत समाजवादी) १०
जनमत पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
नागरिक उन्मुक्ति पार्टी
स्वतन्त्र
जम्मा २६८

विपक्षमा मत दिने

नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय जनमोर्चा

मतदानमा सहभागी नहुने

नेपाली कांग्रेस  ४ (एक जना निलम्बित)
राष्ट्रिय प्रजातन्त्र पार्टी

पाँच सांसद मतदानमा सहभागी भएनन्

आजको संसदबाट मतदानमा सहभागी नहुने पाँचमध्ये एक ज्येष्ठ सदस्य पशुपति शमसेर जबरा हुन्। उनी ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरिरहेका थिए।

कांग्रेसकै सांसद टेकबहादुर गुरूङ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण बैठकमा सहभागी हुन पाएनन्। उनी पनि मतदानमा सहभागी भएनन्। 

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मतदानमा उपस्थित नहुने तीन सांसदमा मनोरमा शेरचन, किशोरसिंह राठोर, अम्बिका बस्नेत छन्। उनीहरू सबै कांग्रेसका सांसद हुन्।

विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्रीद्वारा आभार प्रकट

Pro-KTM-PrachandaBadaic1673368799.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन्।

‘प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिंगो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु,’ उनले भने।

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्रीले भने, ‘तपाईँहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु।’

यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका हुन्।

आफूले सोमबार सिंगो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘मैले हिजो पनि सिंगो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिएँ। त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो। यसले मलाई ऊर्जा दिएको छ।’

प्रधानमन्त्री दाहालले संसदमा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको बताए। उनले भने, ‘मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते संविधानको धारा ७६ को उपाधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले यही पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए।

दाहालले यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलोपटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हालेका थिए । तेस्रोपटक उनी २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update