Canmandu
कोहलीको सतकमा भारतले श्रीलंकालाई हरायो

भारतले श्रीलंकाविरूद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा सहज जित निकालेको छ।

गुवाहाटीमा  मंगलबार साँझ भएको खेलमा भारतले श्रीलंकालाई ६७ रनले हराएको हो।

‍भारतले दिएको ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन मात्र बनाउन सक्यो।

उसका लागि कप्तान दासुन शानकाले सतक पुरा गरे पनि टोलीलाई हराबाट जोगाउन सकेनन्। उनले ८८ बल खेल्दै १२ चौका र ३ छक्कासहित १ सय ८ रनको अविजित शतकीय इनिङ खेलेका थिए।

यस्तै ओपनर पाथुम निसांकाले ८० बलमा ११ चौकासहित ७२ रन बनाए पनि अन्य ब्याटर चन्न नसक्दा विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पराजित हुन पुग्यो।

खराब सुरूआत गरेको श्रीलंकाले १९ रन बनाउँदै पहिलो विकेट गुमाएको थियो। सय रन अघिनै उनका तीन ब्याट्सम्यान प्याभिलियन फर्किसकेका थिए।

श्रीलंकाका ओपनर अविष्का फ्रेनान्डो शून्य, कुशल मेन्डिस ५, चरिथ असलंका २३ र वानिन्दु हसरंगा १६ रनमा आउट भएका थिए। धनन्जय डि सिल्भाले ४० बलमा ९ चौकासहित ४७ रन जोडेका थिए।

श्रीलंकाको आठौं विकेट २०६ रनमा झरेको थियो। नवौं विकेटका लागि दासुन शनाका र कासुन रजिथाले इनिङ्स सम्हाले। शनाकाले केही शानदार शटहरू प्रहार गर्दै अन्तिम ओभरमा आफ्नो शतक पूरा गरेका थिए। उनले श्रीलंकालाई ३०० भन्दा माथि पुर्‍याए पनि हारबाट जोगाउन सकेनन्।

भारतका लागि उमरान मलिकले सर्वाधिक ३ विकेट लिए। मोहम्मद शिराजले दुई तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले एक-एक विकेट लिए।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले विराट कोहलीको शतक र रोहित शर्मा र शुभमन गिलको अर्धशतकको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो।

८७ बल खेलेका विराट कोहलीले १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले। कोहलीको यो ओडिआई करिअरको ४५ औं शतक हो । ओडिआईमा उनको लगातार दोस्रो शतक समेत हो । कोहलीले यसअघि गत डिसेम्बरमा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि भारतलाई ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले उत्कृष्ट सुरूआत दिलाएका थिए। पहिलो विकेटका लागि गिल र रोहितले १९.४ ओभरमा १ सय ४३ रनको शतकीय साझेदारी गरेका थिए। रोहित ६७ बलमा ९ चौका र ३ छक्कासहित ८३ रनमा आउट हुँदा गिलले ६० बलमा ११ चौकासहित ७० रन बनाएका थिए।

यस्तै केएल राहुलले ३९ रन बनाउँदा श्रेयश ऐरले २८ रन बनाएका थिए। यस्तै हार्दिक पान्ड्या १४ र अक्षर पटेल ९ रनमा आउट भए।

श्रीलंकाका लागि कसुन रजिथाले सर्वाधिक ३ विकेट लिए। दिलशान मदुशंका, दासुन शानका, धनन्जय डि सिल्भा र चामिका करुणारत्नेले एक एक विकेट लिए।

दोस्रो ओडिआई खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update