Canmandu
सातवटै प्रदेशले पाए मुख्यमन्त्री, कहाँ को?

प्रदेश सभाको निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। बुधबार चार प्रदेशमा एकसाथ मुख्यमन्त्री नियुक्त भएसँगै सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको हो।

बुधबार मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव, लुम्बिनीमा नेकपा एमालेका लिला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्र रावल मुख्य मन्त्री नियुक्त भएका छन्।

यसअघि प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमतीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल र गण्डकी प्रदेशमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन्।

सत्ता साझेदर दलहरूबीच मधेस प्रदेश, बागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रबाटै आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार साढे दुई वर्षको लागि मुख्यमन्त्री नियुक्त भएका हुन्।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ। यस अघिनै कार्कीले ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेशमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आधा-आधा कार्यकालको लागि दबाब दिँदै माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन। माओवादीबाहेक नै मुख्यमन्त्रीले कार्कीले सोमबार चार सदस्यीय मन्त्रिपरिषद् गठन गठन गरिसकेका थिए।

यस्तै मधेस प्रदेशमा आज मुख्यमन्त्रीमा नियुक्त भएका जसपाका सरोज यादवले साढे दुई वर्षमा जनमत पार्टीलाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ। जसपाका यादवले सत्ता हस्तान्तरण गरेपछि आधा समय सिके रावतको जनमत पार्टीले मधेस प्रदेशको सरकार चलाउने छ।

यस्तै बागमती प्रदेशमा माओवादी र एमालेले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ। त्यसअनुसार सुरूमा मुख्यमन्त्री भएका शालिकराम जम्मकट्टेलले आधा कार्यकाल नेतृत्व गर्नेछन्। त्यसपछि उनले सत्ता एमालेलाई हस्तान्तरण गर्नुपर्ने सहमति छ।

यस्तै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारी पाँच वर्षसम्म सत्ताको नेतृत्व गर्ने सहमति छ। उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ।

यस्तै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन्। लुम्बिनीमा माओवादीले समेत मुख्यमन्त्री दाबी गरेको थियो। संघले पाँचै वर्ष एमालेले सरकार चलाउने सहमति गरेको छ।

यस्तै कर्णालीमा पाँच वर्ष सम्म माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भए पनि प्रदेशमा भने आलोपालोको सहमति भएको छ। प्रदेशको सहमतिअनुसार माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा पहिलो कार्यकालका लागि मुख्यमन्त्री बनेका छन् ।

माओवादी केन्द्रका शर्माले अढाई वर्षपछि एमालेका यमलाल कँडेललाई नेतृत्व छाड्नुपर्ने भएको छ ।

एमाले–माओवादीले आलोपालो सरकार बनाउने सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री भएका राजेन्द्र रावलले अढाई वर्ष पनि माओवादीका संसदीय दलका नेता खगराज भट्टलाई सत्ता सुम्पिनुपर्ने भएको छ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update