Canmandu
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्णपाठसहित)

जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो।

अधिवक्ता मुरारी सापकोटाका अनुसार शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्।

सन्दीपले यी ५ शर्तमा रहेर बस्नुपर्ने हुन्छ

१. यस मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ। यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ।

२. जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न सन्दीपलाई रोक लगाइएको छ।

३. आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन्। जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नू/ नगराउनू भनी सन्दीपलाई निषेधात्मक आदेश दिइएको छ।

४. कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ।

५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।

यी शर्तहरू उल्लंघन गरेको पाइएमा अदालतले उनलाई पुनः थुनामा पठाउन सक्नेछ। धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वत: निष्क्रिय भएको मानिने अदालतको आदेशमा उल्लेख छ। 

त्यसपछि उनी थुनामा बसेरै मुद्दाको किनारा लाग्ने भनिएको छ।  यस्तै यी शर्तको उल्लंघन भएको उजुरी पनि गर्न सकिने उल्लेख छ। कसैले उनी विदेशमा गएको तथ्य पाएमा सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा निवेदन दिएमा र उक्त तथ्य प्रमाणित भएमा उनी थुनामा पठाइने छन्। 

सन्दीपले टिकाटिप्पणी गरेको प्रमाण पीडित, जाहेरीकर्ता वा परिवारका सदस्यले अदालतमा निवेदन दिएर प्रमाणित भएमा पनि उनलाई थुनामा पठाइने छ।

लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए। उनले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी दर्ता हुँदा लामिछाने केन्यासँगको ट्वेन्टी-ट्वेन्टी क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए ।

त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

उनी आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए ।

यस्तो छ पूर्णपाठ

 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update