Canmandu
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्स पोखरामा दुर्घटना

काठमाडौंबाट पोखराका लागि ६८ यात्रु लिएर उडेको यति एयरलाइन्सको विमान आइबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भयो।

यति एयरलाइन्सको एनवाइटी ६९१, एनए–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभन्दा केही समय अगाडि दुर्घटनामा परेको हो।

विमानमा तीन शिशु, तीन बालबालिकासहित ६८ यात्रु र ४ जना चालक दलका सदस्यसमेत गरी ७२ जना थिए।

विमानमा १५ जना विदेशी यात्रु थिए जसमध्ये ५ जना भारतीय, ४ जना रूसी,२ जना कोरियन नागरिक तथा अस्ट्रेलिया, फ्रान्स, आयरल्याण्ड र अर्जेन्टिनीका १-१ जना नागरिक सवार थिए ।

आन्तरिक उडानमा यो हालसम्मकै ठूलो दुर्घटना हो। पहाडी क्षेत्रमा सुरक्षित मानिने विमानस्थल रूटमै यो दुर्घटना भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एटीआर ७२ जहाज पहिलोपटक दुर्घटनामा परेको हो।

काठमाडौं-पोखरा रुट र एटीआर ७२ जहाज सुरक्षित मानिन्छ तर आज उक्त जहाजनै पहिलोपटक दुर्घटनामा परेको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाज आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट उडेको थियो। पोखरा टावरसँग १० बजेर ५० मिनेटमा विमान अन्तिम पटक सम्पर्कमा आएको थियो।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोँचमा मानव बस्ती नजिकै दुर्घटनामा परेको हो।

घटनास्थलमा उद्धारका लागि ९ एनएएलएक्स र ९ एनएएलए दुईवटा हेलिकोप्टर परिचालन गरिएको थियो। काठमाडौं र पोखराबाट विमान दुर्घटनास्थलमा स्थानीयवासीको भीड लागेको देखिन्थ्यो। तर, आगो लागेको ठाउँमा उद्धार गर्न सक्ने अवस्था थिएन। उद्धारका लागि हेलिकोप्टरहरू तैनाथ गरिएको भए पनि यात्रुहरूको जीवितै उद्धार सम्भव भएन ।

यात्रुहरूको खोजी र उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र विमानस्थलस्थित रेस्क्यु एन्ड फायर फाइरिङ टिम परिचालित गरिएको थियो ।

विमान दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा पुगेर घटनाबारे जानकारी लिनुका साथै तत्काल उद्धारमा खटिन निर्देशन दिए।

दुर्घटनामा परेकाहरू

नेपाली यात्रु

किसन आचार्य, निशान्त आचार्य, शालिग्राम आचार्य, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, अनिशा बानियाँ, श्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजय गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, रक्की गुरुङ, शिव गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रबिन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, अभिषेक कुशवाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, क्रिश परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पूजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, आयुर्धी शर्मा, बबी शर्मा, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, सोना दिवाकर, बन्दना सुनार, सुशील श्रेष्ठ, राज ठकुरी, चुडा थापा, गणेश थापा, लबराज तिमिल्सिना

विदेशी यात्रु

सदाकत अलिमिया, भिक्टोरिया अलट्युनिना, एलेना बन्दुरो, रुअन कालुम क्रिघटन, एलेक्जेन्डर इसिडोर, मेरन लभ, युरी लेजिन, भिक्टर लेजिन, जनेटस्यान्ड्रा पेलेभ्सिनो, क्युङचुल यु, स्याङ्जेन यु,

चालक दलका सदस्य

ओसिन आलेमगर, अन्जु खतिवडा, सृजना होङचुङ र कमल केसी

जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा को-पाइलट अन्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।

जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्।

काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले अमेरिकाबाट पाइलट पढेर आएपछि २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए।

वरिष्ठ पाइलट केसीले पाइलटका रुपमा करिअर थालेको ३३ वर्ष पुग्दा यति एयरलाइन्ससँग जोडिएको मात्रै १३ वर्ष भइसकेको थियो।

त्यहीँ भएर उनले भरेको उडानमा अहिलेसम्म कुनै समस्या झेल्नुपरेको कसैलाई थाहा छैन।

निकै अनुभवी पाइलट, त्यसमाथि काठमाडौंदेखि पोखरासम्म नै खुलेको मौसम। आइतबार बिहान यही विमान दुईपटक पोखरा-काठमाडौं गरिसकेको थियो। तर, तेस्रो पटकको उडानमा पोखराको नयाँ विमानस्थलमा अवतरण प्रयास सफल भएन। काठमाडौंबाट पोखरा उडेको विमान गन्तव्यमा पुग्न डेढ किलोमिटर बाँकी रहँदै सेती खोंचमा खस्यो।

लामो हवाई उडान अनुभव भएका ५५ वर्षीय कमलका श्रीमती र २ छोरा छन्।

यस्तै कोपाइलट अञ्जु जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी हुन्।

विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्।

सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान् दीपक पोखरेलको निधन भएको थियो।

विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

‘उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दुर्घटनामा बित्नुभयो, आज छोरीको पनि दुर्घटना भयो भन्नुभयो,’ न्यौपानेले भने।

अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्।

प्रशिक्षणका रुपमा उनको यो अन्तिम उडान थियो। यसअघि अन्जुले पाइलट बन्नका लागि गर्नु पर्ने सबै विमानस्थलमा उडान पूरा गरेकी थिइन्।

अन्तिम उडान भएकाले यो उडान सफल भएको भए उनी क्याप्टेन बन्ने पक्का थियो। क्याप्टेन बन्नैका लागि उनी वरिष्ठ क्याप्टेन तथा प्रशिक्षक केसीसँग पोखराको उडानमा गएकी थिइन्।

सृजना हुङचुङ (एयर होस्टेस)

Untitled-11673803984.jpg

 

रुपन्देहीको सैनामैना ५ सेरवाकी सृजना हुङचुङ (सृजु थापा) २०७२ सालमा यती एयरलायन्स भर्ना भएकी थिइन्।

२९ वर्षीय सृजना बुबा भारतीय लाहुरे भए पनि उनी एयरलायन्सकी विमान परिचारिकाको रूपमा कार्यरत थिइन्। उनले बुटवलस्थित सिसिटी कलेजबाट ओभरसियर अध्ययन गरी पूरा गरी काठमाडौंस्थित शाहारा इन्टरनेशनल कलेजबाट एयरहोस्टेज अध्ययन गरेकी थिइन् ।

परिवारकी एक्ली छोरी सृजनाका २ दाइ १ भाइ छन्।

ओसिन आलेमगर

Oshin-ale-magar1673803973.jpg

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर। एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् ।

केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स पुरा गरेकी उनले यती एयरलाइन्समा नाम निकालेकी थिइन्। चितवन घर भएकी ओसिन काठमाडौंमा बसेर यतीको जागीर खाइरहेकी थिइन् ।

५ सदस्यीय जाँचबुझ आयोग गठन

prachand-2-e16736948528131673804032.jpg

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

जाँचबुझ आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् भने सदस्यहरूमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र जहाज मर्मत सम्भार विज्ञ इन्जिनियर एकराज जंग थापा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिव राखिएको छ ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न विमान कम्पनीहरूलाई निर्देशन समेत दिएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा सरकारले माघ २ गते सोमबार देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शव भोलि आफन्तलाई जिम्मा लगाइने

11673804178.jpg

विमान दुर्घटना ज्यान गुमाएकाहरूको शव सोमबार (भोलि) परिवारको जिम्मा लगाइने भएको छ । दुर्घटनास्थलबाट ६८ जनाको जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ ।  जसमध्ये ११ जनाको सनाखत भएको छ। पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।

यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

पोखराबाट नजिक घर भएकाको शव पोखरामै आफन्तको जिम्मा लगाइने तयारी छ। काठमाडौंबाट शव ल्याउन आफन्तलाई झन् दुःख हुने भएकाले पोखरामै शव जिम्मा लगाउने तयारी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। केसीका अनुसार पहिचान भए पोखरा तिरका मान्छेको शव यही जिम्मा लगाउने कुरा छ। तर धेरै शवको पहिचान गर्न सक्ने अवस्था छैन। पहिचान हुन नसक्ने शव डीएनएका लागि काठमाडौं पठाइने भएको छ।

यस्तै विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं नै ल्याउने तयारी भइरहेको छ। अन्य शवसँगै उनीहरूलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइनेछ। दुर्घटना स्थल खोँच र अप्ठयारो भएकाले चार जना अझैँ बेपत्ता छन्। भोलि बिहानैबाट पुनः खोजी गरिने भएको छ।

विमान दुर्घटनाको शोकमा यति एअरलाइन्सले सोमबार उडान नगर्ने

यति एअरलाइन्सले विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको शोकमा सोमबार (भोलि) का सबै उडान रद्द गरेको छ ।

एअरलाइन्सले आइबार साँझ एक विज्ञप्ति जारी गरी भोलि तय भएका आफ्ना सबै उडान रद्द गरिएको जानकारी दिएको हो ।

यात्रुहरूलाई पर्ने असुविधाप्रति क्षमा माग्दै एअरलाइन्सले आपतकालीन र उद्धारका उडान भने सुचालु हुने जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट दुःख व्यक्त

पोखरामा आज भएको भयानक विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि गहिरो दुःख व्यक्त गरेको छ।

घटनाप्रति अमेरिका, रूस, भारत, चीन र पाकिस्तानले दुःख व्यक्त गरेका छन्।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्। सन्देशमा उनले नेपाल र नेपाली जनतालाई समवेदना प्रकट गरेका छन्।

भण्डारीलाई पठाएको सन्देशमा उनले पुटिनले मृतकका परिवारजन र साथीप्रति सहानुभूति व्यक्त गरेका छन्।

नेपालस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

‘हामी यो दुःखद घटनाप्रति दुखित छौं। हामीले घटनास्थल नियालिरहेका छौं। कुनै पनि अमेरिकी नागरिक परेको भन्ने जानकारी हामीलाई छैन। हामी यस घडीमा पीडित परिवारको साथमा छौं’ दूतावासले भनेको छ।

भारतका विदेशमन्त्री एस जयंशकरले पोखरामा भएको विमान दुर्घटनाबाट आफू मर्माहत भएको ट्वीटमा उल्लेख गरेका छन्। उनले मृतक परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु। यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरुप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवारहरुप्रति समवेदना प्रकट गर्न चाहन्छु’ ट्वीटमा उनले भनेका छन्।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा पाकिस्तान नेपाली जनताको साथमा रहेको उल्लेख गरेको छ।

‘पाकिस्तान सरकार जहाज दुर्घटनामा अमूल्य जीवन गुमाउनेप्रति समवेदना व्यक्त गर्न चाहन्छ। दुर्घटनाप्रति हामी दुखित छौं। मृतकका परिवारप्रति हाम्रो साथ छ’ विज्ञप्तिमा भनिएको छ। 

यस्तै पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा पर्भेज अस्रफ र उपसभामुख जहिद अक्रम दुरानीले विमान दुर्घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

‘यो शोकको घडीमा पाकिस्तान नेपाली जनता र सरकारसँग ऐक्यबद्दता जनाउन चाहन्छ’ उनीहरुले ट्वीटमा भनेका छन्।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update