Canmandu
रवि लामिछानेको मुद्दा हेर्दा-हेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैको सूचीमा परेको छ । सर्वोच्च अदालतमा आजदेखि सुरु भएको यो मुद्दाको सुनुवाइ अब शुक्रबार हुनेछ ।  

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मलित संवैधानिक इजलासमा आज मुद्दाको सुनुवाइ सकिएन । आजदेखि अन्तिम सुनुवाइ थालेको इजलासले हेर्दा हेर्दैको सूचीमा राखेर शुक्रबार सुनुवाइ गर्ने भएको हो ।

यसअघि सरकारका तर्फबाट बहस गर्दै सहन्यायाधिवक्ता सन्जीवराज रेग्मीले लामिछानेविरुद्ध परेको प्रतिनिधिसभा सदस्यता अयोग्यतासम्बन्धी रिट नै खारेज भागी रहेको बताए । 

रिट निवेदकले लामिछाने नेपाली नागरिक होइनन् भनी भन्न नसकेको उनको भनाइ थियो । यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरुले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिक पुनःप्राप्तिका लागि कुनै पनि प्रक्रियामा नगएको जिकिर गरेका छन् । 

लामिछानेले जे गरे पनि आफूलाई कानुन लाग्दैन भन्ने व्यवहार देखाएको उनीहरुको भनाइ थियो । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेजीको माग दाबीसहित सर्वोच्चमा रिट परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपालको कायम रहेको वा नरहेको तथा नेपाल फर्केपछि यहाँको नागरिकता लिने प्रक्रिया पूरा गरे/नगरेको विवाद सर्वोच्चको संवैधानिक इजलास पुगेको हो ।

मुद्दा अदालतमा कायमै रहेका बेला लामिछाने पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका थिए । सर्वोच्चले लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गरेमा उनको मन्त्री र सांसद पद खारेज हुन सक्ने देखिन्छ । विदेशी नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता कायम हुने व्याख्या भएमा त्यो नयाँ नजिर हुनसक्छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update