Canmandu
नेपाल टी-२० लिग : भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर

राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले गठन गरेको नेपाल टी-२० लिग छानविन कार्यदलले लिगका लागि भारतीय कम्पनीसँग गरिएको सम्झौता तत्काल खारेज गर्नुपर्ने ठहर गरेको छ। 

राखेपका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित कार्यदलले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो। 

यसअघि नेपाल टी-२० लिगमा विदेशी खेलाडीलाई विना श्रमस्विकृती खेलाएको र फिक्सिङसहितक गैरकानुनी काम भएको सार्वजनिक भएपछि राखेपले छानविन गर्न कार्यदल गठन गरेको थियो। 

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि नेपाल टी-२० लिग गर्न सम्झौता गरेपछि लिग विवादित बनेको थियो। बेटिङ पृष्ठभूमीको कम्पनीले लिगको नाममा गैरकानुनी बेटिङ र फिक्सिङ गराउन सक्ने आशंका लिगका दौरान गरिएको थियो। 

त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गर्दै लिगमा फिक्सिङ भएको ठहर गरेको थियो। फिक्सिङको अभियोगमा प्रहरीले राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारी र पूर्व अलराउन्डर मेहबुब अलामलाई पक्राउ समेत गरेको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको नेपाल टी-२० लिगको छानविन कार्यदलको प्रतिवेदनको सार

१. नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टी-२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर।

२. प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याइ गरिएको नेपाल टी-२० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर।

३. नेपाल टी-२० लिगमा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङका हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सिआइबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निश्कर्षको आधारमा दोषी माथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्‍याउने।

४. कार्यदलको प्रतिवेदनमाथि सरोकारवाला निकाय एवं अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग आवश्यक छलफल र समन्वय गर्न सकिने।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update