Canmandu
अस्ट्रेलियाको रियल स्टेटदेखि निमार्ण कम्पनीसम्म जमेका ज्ञानेन्द्र

सानैदेखि व्यापार व्यवसायमा रूची राख्थे उनी। मोरङको रंगेली थातथलो भए पनि स्कुल सकेपछि विराटनगर उनको कर्मथलो बन्यो। 

कलेजको पढाइसँगै उनले होटल र फर्निचर व्यवसाय सुरू गरे। त्यसपछि काठमाडौंमा चिकित्सा उपकरण व्यवसायमा जमेका ज्ञानेन्द्र कार्की यतिबेला अस्ट्रेलियाको सिड्नीमा रियल स्टेट र निर्माण व्यवसायमा एउटा ‘ब्रान्ड’ बनिसकेका छन्। 

उनलाई नेपालीले ज्ञानेन्द्रका रूपमा चिन्दै गर्दा अस्ट्रेलियनसहित तेस्रो मुलुकले ‘ग्यारी’ का नामले चिन्ने गरेका छन्।

सुरूमा ‘मेट्रो होम्स एन्ड पार्टनर्स’ बाट रियलस्टेट व्यवसाय  सुरू गरेका ज्ञानेन्द्र यतिबेला लाभिस कन्स्ट्रक्सन एन्ड डभेलपमेन्ट, (लेभिस कमर्सियल डिभिजन) अर्बन होम्स र एक्सपर्ट स्टेट एजेन्ट गरी रियलस्टेटका सबैखाले विधामा छाएका छन्।

उनको निमार्ण कम्पनीले आठ तलासम्मको व्यापारिक तथा व्यवसायीक घर/अफिस निर्माण गर्न पाउँछ। जुन अहिले अस्ट्रेलियामा नेपाली मुलको सम्भवत पहिलो सफलता हो। 

विभिन्न वाधा व्यवधान पार गरेर अहिलेको स्थितिमा आएका ज्ञानेन्द्र निरन्तरको लगन र मिहेनतले सफल भएको बताउँछन्। ‘प्रारम्भमा धेरैले खुट्टा तान्ने प्रयास नगरेका होइनन् तर म आफ्नो बाटो नबिराइ हिँडेकाले उनीहरू आफैं पछि फर्कन बाध्य भए’, उनले सेतोपाटीसँग भने।

रियल स्टेट, निमार्ण र घर जग्गा बिक्रि वितरण एउटै खाले देखिए पनि यस भित्रका विविधता र सरकारी नियमन फरक फरक भएकाले यो व्यवसायलाई मसिनो गरि केलाउनुपर्ने उनले जानकारी दिए।

ग्राहकको सन्तुष्टी र सहजताका लागि एक अर्कामा जोडिएका चार कम्पनी एकै साथ अगाडि बढाएको उनले बताए।

‘बाहिरबाट एउटै देखिए पनि दायित्व र कामको प्रकृति फरक-फरक भएकोले सबैलाई फरक फरक पाटो र जिम्मेवारीका साथ एउटै छातामुनी ओगट्ने प्रयास गरेका हौ’, ज्ञानेन्द्रले भने।

उनको मेट्रो होम्स एन्ड पार्टनर्स र लाभिस कन्सट्रक्सनले ठूला योजनाको काम सम्हाल्छ यस्तै एक्सपर्ट स्टेट एजेन्टले परम्परागत रियलस्टेट विधा र अर्वन होम्सले ल्यान्ड एन्ज प्याकेज जस्ता मझौला खाले निर्माण सम्हाल्दै आएको छ।

एक्सपर्ट स्टेट एजेन्ट हाल सिड्नीमा रहे पनि निकट भविष्यमै यसलाई अस्ट्रेलियाको सबै ठूला शहरमा पुर्‍याउने उनले लक्ष्य राखेका छन्।

‘हामीले हाम्रै घर किन्नुपर्छ भन्दैनौं तर कम्तीमा तपाईँको जीवनभरको लगानीको सही सदुपयोग हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने।

ज्ञानेन्द्र यतिबेला नेपाली भन्दा बंगाली, भारतीय, अरेविक र चिनियाँ समाजमा ग्यारीका नामबाट बढी लोकप्रिय छन्। तर पनि उनलाई आफू जन्मेका ठाउँ र हुर्केको गाउँ अनि आफ्नो समाज सबै भन्दा प्यारो लाग्छ। 

नेपाली समाज र नेपालसँग जोडिने हरेक अभियानमा जोडिदै आएका ज्ञानेन्द्रले समाजसेवासँगै व्यापार व्यवसायलाई एक साथ अगाडि बढाएका छन्।

‘व्यवसायीक रूपमा केही कमायौं भने त्यसको केही हिस्सा सामाजिक काममा खर्च गर्न सके मात्र त्यसको सफलता बाँड्न सकिन्छ’, उनले भने। 

अस्ट्रेलियामा नेपाली समाजको बढोत्तरीसँगै गतिविधि पनि निकै बढेका छन्। हरेक क्षेत्रमा नेपालीको पहिचान बढ्दै गएको छ। ब्यापार व्यवसायमा पनि उत्तिकै सहभागिता बढेको छ। 

नेपालीको बलियो पहिचानसहित अस्ट्रेलियाको सबै क्षेत्रमा फैलनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको ज्ञानेन्द्र बताउँछन्। 

अहिले अस्ट्रेलियामा करिब ७० हजार नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन्। 

यसरी नेपाली युवाको पहिलो रोजाइको मुलुक भएकाले पनि सम्भावनाका कयौं पाटा केलाएर उनीहरूलाई व्यवसायमा संलग्न गर्ने महत्वपूर्ण उद्धेस्य आफूले बोकेको ज्ञानेन्द्र बताउँछन्। 

‘हामीले स्टार्ट अप क्यापिटल अर्थात प्रारम्भीक व्यवसायीक पूँजी लगानीको सुरूवात गर्ने र नेपाली युवालाई यसमा समाहित गर्ने एउटा ठूलो प्रयास सुरुआत गरेका छौ’, कम्पनीका कार्यकारी समेत रहेका ज्ञानेन्द्रले भने, ‘यसका लागि अस्ट्रेलियासँगै नेपालमा पनि महत्वपूर्ण अभियान थाल्नेछु।’

उनले पढाइ सकेर अलमलमा परेका युवालाई उनीहरूले सिकेको सिप र क्षमताको सदुपयोग गराउँदै प्रारम्भीक लगानीमा अगाडि बढाउन खोजेका छन्। अहिलेको यो आवश्यकता भएको भन्दै यही अनुरूप कनेन्ट एनआरएन बिल्ड नेपाल भन्ने अभियान अगाडि बढाएको उनले जानकारी दिए।

यो सँगै ज्ञानेन्द्रले प्रवासी नेपालीमाँझ एउटा महत्वपूर्ण एजेन्डाका रूपमा स्टार्ट अप क्यापिटल अभियानलाई अगाडि बढाउने चाहना रहेको बताए। 

त्यसबाहेक उनले नेपाली विद्यार्थी केन्द्रित चाडैनै सारथी नामक अभियानसमेत सुरू गर्न लागेका छन्। 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update