Canmandu
युएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

कतारमा कार्यरत नेपाली युवा रञ्जितकुमार पालले ८२ करोड नेपाली रुपैयाँ रकम बराबरको चिठ्ठा जितेका छन्।

युएईको अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रमा उनले दुई करोड ३० लाख (२३ मिलियन) दिराम राशीको चिठ्ठा जितेका हुन् । उक्त रकम हालको नेपाली विनिमय दरअनुसार करिब ८२ करोड रुपैयाँ हुनेछ ।

शुक्रबार राति चिठ्ठाको नतिजा सार्वजनिक गरिएको हो । पालले गत जनवरी १६ मा २३२९३६ नम्बरको टिकट खरिद गरेका थिए ।

कतारको राजधानी दोहामा विगत सात वर्षदेखि उनी एक मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रहेका छन् ।

दुई छोरा बाबु उनी पुरस्कार जितेपछि निक्कै खुशी छन् । पाँच र दश वर्ष उमेरका उनका दुई छोरा छन् ।

उनले उक्त रकम नेपालमा रहेको आफ्नो परिवारका लागि खर्च गर्ने बताएका छन् । उनले पछिल्लो १५ महिनादेखि २० जना साथीहरुसँग मिलेर बिग टिकट खरिद गर्दै आएका थिए । उनले यसलाई जारी राख्ने समेत बताएका छन् ।

रोजगारीको शिलशिलामा युएई, कतार पुगेका नेपालीहरुले बेलाबेला यस किसिमको चिठ्ठा कार्यक्रममार्फत पुरस्कार जित्दै आएका छन् ।

२०७० सालमा नेपाली नागरिक डिल्लीराम पराजुलीले कतार ड्युटी फ्रिको डलर मिलिएनार चिठ्ठा अन्तर्गत नेपाली रुपैयाँ करिब ८ करोड ७० लाख जितेका थिए । 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update