Canmandu
गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।

आज बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।

प्रधानमन्त्री दाहाललाई भेटेर फर्किएका लामिछानेले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारबाट बाहिरिने निर्णय गरेका हुन्। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थन कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरूलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरेको छ।”

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी  थिए। यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए। नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उनी पदमुक्त भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका तीनै जनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन। उनीहरूले आइतबार बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।

RSP Ministers1675617749.jpg

प्रधानमन्त्री दाहालसँगै गत पुस ११ गते सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसमा एक थिए, रास्वपाका सभापति रवि लामिछाने। उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए।

त्यसपछि प्रधानमन्त्री दाहालले माघ ३ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए। चार उपप्रधानमन्त्री तथा तीन राज्यमन्त्री सहित २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट तीन जना थपिएका थिए।

जसमा शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि र डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यस्तै, डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएकी थिइन्।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update