Canmandu
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।

उपाध्यक्ष पदमा अर्यालको एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उपाध्यक्षमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको हो।

अर्यालको प्रस्तावकमा राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ थिए भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा थिए।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।

माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी अर्यालले पूर्वस्थानीय विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छन्। विसं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा पर्सामा जन्मिएकी हुन्। 

तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन्।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी पनि हुन्। अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेकी छन्। सेभ द चिल्ड्रेनलगायत संस्थामा समेत काम गरेको अनुभव छ। 

राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु 

 नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन्।

सोमबार राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन्। उनले राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने उल्लेख गरिन्।

उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन्।

उनले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने र महिलाहरुका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने प्रतिबद्धता जनाइन्।

‘यहाँ रहँदाखेरि म यो पार्टी, ऊ पार्टी भन्दा पनि हामी सबैको योगदान छ, यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको छ। कति यो ठाउँसम्म नआउँदै हराउनु भयो। सिद्दिनु भयो। कति सहिद हुनुभयो। ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौं,’ उनले भनिन्।

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेको बताइन्।

आफूले कसैको पक्ष नलिइ काम गर्ने कुरामा सबैको विश्वास रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update