Canmandu
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा

नेपाली टोली बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि ३–१ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो ।

बंगलादेशको ढाकास्थित सहिद मुस्तफा कमल स्टेडियममा नेपालले पुनरागमन जित निकालेको हो । सुमती कुमारीको क्रसमा अपूर्वा नार्जरीले गोल गरेपछि नेपाल २१ औं मिनेटमा पछि परेको थियो । पहिलो हाफमा प्राप्त केही अवसर गुमाएको नेपालले दोस्रो हाफमा भने शानदार पुनरागमन गर्यो ।

४८ औं मिनेटमा अन्जली चन्दको गोलमार्फत नेपाल खेलामा फर्कियो । डिफेन्डर शुभाङ्‍गी सिंहले दिएको सटपास भारतीय गोलरक्षक आन्सिकाले सहजै क्लियर गर्न सकिनन् । अमिसा कार्कीले डिबक्सभित्रै पुगेर आन्सिकाबाट बल खोस्दै अन्जलीलाई पास उपलब्ध गराएकी थिइन् ।

कप्तान प्रिती राईको पेनाल्टी गोलसँग ६९ औं मिनेटमा नेपालले अग्रता बनायो । भारतीय डिफेन्डरले अन्जलीलाई डिबक्समा फल हानेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । ८९ औं मिनेटमा अमिशा कार्कीले नेपालका लागि तेस्रो गोल गरिन् । तीन डिफेन्डरलाई बिट गर्दै कप्तान प्रितीले डीबक्स भित्रबाट अमिसाका लागि पास उपलब्ध गराएकी थिइन् ।

अमिसाको प्रतियोगितामा यो चौथो गोल हो । उनले भुटानविरुद्ध ह्याट्रिक गरेकी थिइन् । लिग चरणका दुई खेलमा जित निकालेको नेपालको ६ अंकसहित चार टोली सहभागी प्रतियोगितामा दोस्रो हुँदै फाइनलमा पुगेको हो।

पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो। भुटानलाई पहिलो खेलमा १२–० ले हराउको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

आजै भएको अर्को खेलमा घरेलु टोली बंगालदेशले भुटानमाथि ५-० गोल अन्तरको जित निकाल्दै शीर्ष स्थानमा रहँदै  अन्तिम दुईमा प्रवेश गरेको छ।

बंगलादेशले पहिलो खेलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतसँग गोलरहित बराबरी खेलेको थियो। अन्तिम खेलमा बंगलादेशले भुटानलाई ५-० गोल अन्तरमा हराउँदै ७ अंक जोड्यो।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update