Canmandu
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित हुने

प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि पेस हुने भएको छ।

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको पहिलो संशोधन विधेयक पुनर्विचारका लागि भोलिको बैठकमा पेस गर्ने भएका हुन्। 

पुनर्विचारका लागि पेस भएपछि विधेयकमाथि प्रतिनिधि सभा बैठकमै छलफल हुनेछ। छलफलमा सांसदहरूले आफ्नो धारणा राख्न पाउनेछन्। लगत्तै सांसदहरूले राखेको धारणामा गृहमन्त्रीले जवाफ दिनेछन्। 

नागरिकता विधेयकमाथि संशोधनका लागि प्रतिनिधि सभाको समितिमा पठाउने बाटो सरकारसँग उपलब्ध छ। कतिपय सांसदहरूले राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संशोधन गर्नुपर्ने बताएका छन्। तर सत्ता गठबन्धनले विधेयक परिमार्जन नगर्ने जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ। फिर्ता भएको विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन पाउने छैनन्।

यसअघि राहदानी विधेयकमा पनि सांसदहरूले संशोधन हाल्न पाएका थिएनन्। यसपटक सोही नजिर प्रतिनिधि सभाले पछ्याउन लागेको हो।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक भोलि नै पारित गर्नेगरी प्रतिनिधि सभाले कार्यसूची तयार पारेको छ।

गृहमन्त्री बालकृष्ण खाणले भोलिकै बैठकमा विधेयक पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update