Canmandu
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नजिक

टर्की र सिरियामा विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२ हजार नजिक पुगेको छ ।

हालसम्म दुई मुलुकमा गरी ११ हजार आठ सय मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको छ। टर्कीमा मात्रै हालसम्म ९ हजार ५७ जनाको मृत्यु भएको छ । यस्तै छिमेकी मुलुक सिरियामा २ हजार ६१२ जनाको मृत्यु भएको छ ।

गत सोमबार बिहान ४ : १७ बजे ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पले सयौँ भवनहरु ध्वस्त भएका छन् । अस्पताल, विद्यालय तथा आवासीय क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ। हजारौँ मानिसहरु घाइते भएका छन् ।

टर्कीका उपराष्ट्रपति फुएट ओकतायले भूकम्पको केन्द्रबिन्दु रहेको काहरामान्मारस प्रान्तमा ५० हजार भन्दा बढी घाइते भएका जानकारी दिएका छन्। भूकम्पले दशौं हजार भवन ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी मानिसलाई भग्नावशेषबाट उद्धार गरिएको उनले बताए ।

टर्की र उत्तरी सिरियामा हजारौँ मानिस घरबारविहीन भएका छन् । दातृ निकायहरुले उत्तरपश्चिमी सिरियामा चालिस लाखभन्दा बढी मानिस मानवीय सहायतामा निर्भर रहनु चिन्ताजनक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले यो विपत्ति हुनु पूर्व गृह युद्धले ७० प्रतिशत सिरियाली जनता मानवीय सहायताको लागि आश्रित रहेको बताएको छ । यस विपत्तिले थप संकट निम्त्याएको राष्ट्रसंघको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा इन्धन र विद्युत आपूर्ति बन्द भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update