Canmandu
नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछाने पनि राष्ट्रिय टिममा

नाबालिग बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। 

क्यानले आगामी फागुन २ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजका लागि टिम घोषणा गरेको हो।

विरोधका बाबजुद क्यानले सन्दीपलाई पनि टिममा राखेको हो। गत भदौमा नाबालिग बलात्कारको अभियोग लागेपछि निलम्बित सन्दीपलाई दुई साताअघि क्यानको बोर्ड बैठकले निलम्बन फुकुवा गरेको थियो।

जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहे पनि सन्दीपलाई थुनामुक्त गरेर अनुसन्धान गर्न उच्च अदालतले आदेश दिएपछि सन्दीप २० लाख रूपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए। उनलाई देशबहिर जान प्रतिबन्ध छ भने काठमाडौं बाहिर जान अनुमति लिनु पर्छ। 

सिरिजका लागि घोषणा गरिएको टिममा रोहित पौडेल कप्तान छन् भने सूर्य तामाङ पहिलो पटक टिममा परेका छन्। 

सिरिज नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई/दुई खेल खेल्नेछ।

लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैठौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।

सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवान्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवान्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।

लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।

सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैठौं स्थानमा छ। अन्तिम स्थानको पपुवान्युगिनीको २८ खेलबाट ५ अंक छ।

तीन वटा सिरिजका लागि नेपालको यही सातादेखि तयारी सुरू गरेको थियो। औपचारिक नियुक्ति पाइनसके पनि भारतका मेन्टी देसाईले नेपाली टिमको प्रशिक्षण गराइरहेका छन्।

सिरिजका लागि नेपाली टिम 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुल्शन झा, भीम सार्की, सूर्य तामाङ।

वैकल्पिक खेलाडीहरू- आरिफ शेख, प्रतिश जिसी, मौसम ढकाल र अर्जुन साउद।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update