Canmandu
रवि लामिछानेको क्षेत्र चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

निर्वाचन आयोगले चितवन २ मा प्रतिनिधिसभाको उप-निर्वाचन गर्ने भएको छ । आयोगका अनुसार चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगको आज (आइतबार) बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० वैशाख १० गते आइतबारका दिन चितवन क्षेत्र २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो ।

‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७२/१०/१३ मा आदेश भइ आएको र संघीय संसदको च.नं. ३२ मिति २०७९/१०/१९ को पत्रबाट रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ, ‘नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।’

साथै आयोगले निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक गरेको छ । जसका लागि फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिकको समय छुट्याइएको छ । यस्तै उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्‌न प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचनको मतदान भने २०८० वैशाख १० गते हुनेछ ।

ElectionCOmmision-16762021521676212326.jpg

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update