Canmandu
नामिबियामाथि स्कटल्यान्ड १० विकेटले विजयी

ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधबार स्कटल्यान्डले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्टकल्यान्डले २२.१ ओभरमा बिनाकुनै क्षति पूरा गरेको हो । स्कटल्यान्डका लागि मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्का सहयोगमा अविजित १ सय ३ रनको पारी खेलेका हुन् । यस्तै अर्का ओपनर ओपनर काइल कोट्जर अर्धशतकीय पारी खेल्न चार रनले चुके ।

उनले ७२ बलमा ७ चौकाको मद्दतमा अविजित ४६ रन जोड्न सफल भए । यससँगै नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिति त्रिकोणात्मक शृंखलामा नामिबियाले लगातार दोस्रो हार भोगेको छ । यसअघि मंगलबार आयोजक नेपालसँग २ विकेटले पराजित भएको थियो ।

यसअघि टस हारेर पछि ब्याटिङको निम्तो पाएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५३ रन जोडेको थियो । नामिबियाका ओपनर लो हेन्डर लोहोरेन्सले ८८ बलमा पाँच चौकाको सहयोगमा व्यक्तिगत ५४ रनको पारी खेलेका थिए । बर्नाड स्कोल्चले ३० र जेन ग्रिनले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । मंगलबार नेपालविरुद्ध शतक पूरा गरेका मिकेल भान लिंगेनले चार रनमा पवेलियन फर्किन पुगेका थिए ।

नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा स्कटल्यान्डका लियस्कले सर्वाधिक ४ विकेट लिए । उनले ८.२ ओभरमा २४ रन खर्चिएका थिए । यस्तै मार्क वाट् र सफियान सासिफले समान तीन विकेट निकाल्न सफल भए । ९ ओभर बलिङ गरेका मार्क वाट १ मेडन ओभर राख्दै ३० रन खर्चिंदा सफियान सासिफले ८ ओभरमा २ मेडन ओभर राख्दै २९ रन खर्चिएका थिए ।

यससँगै स्कटल्यान्डका ३३ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो, ३२ खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो र ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । पाँचौं स्थानको यूएईको २६ खेलमा २७ अंक छ भने छैटौं स्थानको नेपालको २५ खेलमा २० अंक छ । सातौं स्थानको पपुवान्युगिनीको २८ खेलमा ५ अंक छ ।

त्रिकोणात्मक शृंखलामा अब यी दुई टोलीबीच आगामी सोमबार हुनेछ भने शुक्रबार नेपाल र स्कटल्यान्डबीच पहिलो खेल हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update