Canmandu
जलेर गम्भीर घाइते कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

जलेर गम्भीर घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमाको निधन भएको छ। बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डरबाट ग्यास लिक भएर भण्डारीसँगै उनकी ८६ वर्षिय आमा हरिकला भण्डारी घाइते भएका थिए।

चिकित्सकका अनुसार शरीरको ७० प्रतिशत भाग जलेको उनको उपचारकै क्रममा बिहिबार बिहान १०:५७ बजे निधन भएको हो।

यस्तै जलेर गम्भीर घाइते भएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत पठाइएको छ।

उनको दुवै हात-खुट्टा र अनुहारसहित शरीरको ३० प्रतिशत भाग जलेको छ। उनलाई थप उपचारका लागि सोमबा दिउँसो एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो।

मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनको उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भण्डारीलाई चिकित्सकको उच्च निगरानीमा राखेर मुम्बई पठाइएको हो। नेपाली चिकित्सकले भारतीय चिकित्सकलाई जिम्मा लगाएर आजै काठमाडौं फर्किएका छन्।

राजधानीको बुद्धनगरमा बुधबार राति ग्यास सिलिन्डर लिक भइरहेको अवस्थामा बिजुली बाल्न स्विच थिच्दा आगलागी भएर उक्त दुर्घटना भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

कसरी भएको थियो घटना ?

as1676567291.jpg

चन्द्र र उनकी आमा हरिकला बुद्धनगरस्थित भाइको घरमा बस्थे । माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो भने तल्लो तलामा चन्द्र र उनकी आमा हरिकला ।

चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका नेता सबुज बानियाको छोराको बिहेमा गएका थिए । उनी उतै खाना खाएर आउने भएकाले भान्सामा केही पाकेको थिएन ।

चन्द्र साढे ९ बजेतिर चन्द्र घर फर्किए । कांग्रेस नेता एनपी साउदले गाडीमा घरमै छोडेर फर्किएका थिए ।

त्यसको केहीबेरमा ठूलो बिस्फोटको आवाज आयो । भाइ हरिहर र बुहारी दौडिँदै तल्लो तल्लामा झरे ।

उनीहरूका अनुसार भुइँ तल्लामा धेरै धुवाँ थियो । चन्द्र भण्डारी छटपटाउँदै प्यासेजतिर आउँदै थिए । आमा भान्सा बाहिरको एक कुनामा कपडा जलेको अवस्थामा लडिरहेकी थिइन् ।

भान्सामा ग्यासको चुल्हो जस्ताको त्यस्तै छ । सिलिण्डरमा रेगुलेटर र पाइप पनि जोडिएकै अवस्थामा छ । चुल्हो बाहिर रहेको ग्यासको सिलिण्डर पनि राम्रै अवस्थामा थियो ।

घरको भान्साको ढोका फुटेको छ । झ्यालको सीसा फुटेको छ । भान्सा बाहिरको सानो स्टोरमा लगाइएको युपीभीसीको छानो उडेको छ भने ढोकाको सीसा पनि फुटेको छ ।

विस्फोटको आवाज सुनेपछि सामुन्नेका छिमेकी भरत घिमिरे छोरालाई लिएर भण्डारीको घरमा पुगे ।

चन्द्रका भाइ हरिहर गुहार-गुहार भन्दै सहयोग मागिरहेका थिए । घिमिरे सहितका छिमेकी घरमा छिर्दा चन्द्र भण्डारी कपडा जलेको अवस्थामा कुर्सीमा बसेर मलाई बचाउ भन्दै याचना गरिरहेका थिए ।

घटनाको १५ मिनेटमै उनीहरुलाई अस्पताल पुर्‍याइएको घिमिरेले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update