Canmandu
‘भ्वाइस अफ नेपाल’ लाई अस्ट्रेलियामा दर्शकको साथ

 रियालीटी शो ‘भ्वाइस अफ नेपाल’ ले यतिबेला अस्ट्रेलिया यात्रा गरिरहेको छ।

राजधानी क्यानबेरामा आयोजित नेपाल महोत्सवबाट आफ्नो यात्रा सुरू गरेको भ्वाइसको यो टिमले एडिलेडमासमेत आफ्नो प्रस्तुती दिइसकेको छ।

शुसील नेपाल, कोच प्रमोद खरेल, भ्वाइसका पछिल्ला दुई संस्करणका विजेता करण राई र किरण गजमेर तथा आरिफ राउफ र वर्षा इटानीको प्रस्तुतीलाई एडिलेडको डोम पोलस्कीमा दर्शकले रूचाए

त्यसमध्ये कोच प्रमोद खरेलको विशेष प्रस्तुती निकै आर्कषक रहेको सहभागिहरुले प्रतिक्रिया दिए।

यो टिमले अस्ट्रेलिया यात्रा अन्तर्गत आगामी २४ फेब्रुअरीमा सिड्नीमा विशेष प्रस्तुती गर्ने आयोजक तथा युनिभर्सल थट कन्सल्टका निर्देशक शिव बन्जाराले बताए। बैंकसटाउनको पेसअवेमा आयोजना हुने सांगीतिक कार्यक्रम भब्य र सभ्य हुने बन्जाराले दाबी गरे। 

त्यसअघि यो सांगीतिक समूहले ब्रिजेबनमा फेब्रुअरी २२ तारिखका दिन र क्रेन्समा फेब्रुअरी २५ तारिखमा कार्यक्रम आयोजना गर्ने तालिका छ। 

सिड्नीको शो पछि क्रेन्स र त्यसपछि भ्याइस अफ नेपालको अन्तिम प्रस्तुती मेलवर्नमा ४ मार्चमा हुने तय भएको बन्जाराले जानकारी दिए।

‘भ्याइस अफ नेपाल’ मुलुक चिनाउने रियालीटी शो भएकाले पनि यसको श्रृवृद्धि गर्नु हाम्रो दायित्व पनि हो’, बन्जाराले भने।

कार्यकारी निर्माता तथा प्रस्तोता शुसील नेपालले भ्वाइसको अस्ट्रेलिया यात्राका दौरान यसपटक नयाँ प्रतिभाको उपस्थिति र प्रर्दशन निकै बेजोड रहेको बताए।

‘लुकेर बसेका प्रतिभालाई दर्शकमाझ ल्याइदिने हामी माध्यम मात्र हौ, जब उनीहरू दर्शकको रोजाइमा पर्छन् तब उनीहरुको प्रतिभा थप निखारिँदै जान्छ’, उनले भने। 

अन्तर्राष्ट्रिय विद्यार्थीको अस्ट्रेलियन संगठन सीसाका पूर्व अध्यक्ष विजय सापकोटा नयाँ पुस्तालाई नेपाली भाषा सिकाउने महत्वपूर्ण माध्यमका रूपमा रहेको यस्ता रियालीटी शोहरू अस्ट्रेलियामा प्रर्दशनीमा आउनु आफैंमा महत्वपूर्ण विषय भएको बताउँछन्। 

‘घर घरमा साना नानीहरु भ्वाइस अफ नेपाल हेरेर आफ्नो भाषा बोल्ने गरेको मैले देखेको छु, त्यसैले यस्ता कार्यक्रमलाई बढावा दिनु हाम्रो कर्तब्य पनि हो’, उनले भने।

भ्वाइस अफ नेपालको सिडनी संस्करणको जिम्मा गगन शर्माले लिएका छन्।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update