Canmandu
'कोशी' रह्यो प्रदेश १ को नाम

 प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेश १ को नाम कोशी राख्न प्रस्ताव गरेका थिए । प्रदेशको नाम ‘कोशी’ राख्ने पक्षमा ८२ र विपक्षमा ४ मत  खसेको हो ।

प्रदेशसभाको आज (बुधबार) बसेको बैठकमा सरकारले कोशी नाम राख्न प्रस्ताव गरेकामा छलफल सकिएर उक्त प्रस्तावमाथि संशोधन गर्न दुई घण्टाको समय दिइएको थियो । त्यसपछि साढे ८ बजे बसेको प्रदेशसभा बैठकले १ नम्बर प्रदेशसभाको नाम राति पौने १० बजे टुङ्ग्याएको हो ।

अब प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ भएको छ ।

प्रदेशसभाको पहिलो कार्यकालले प्रदेश १ को नामकरण गर्न सकेको थिएन । तर दोस्रो कार्यकाल सुरु भएलगत्तै दुईतिहाइ बहुमत जुटाएर प्रदेशसभाको नामकरण गरिएको हो । कोशी नाम राख्नुपर्ने भनेर प्रदेशसभामा पेस गरिएको प्रस्तावमा एमालेका रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी तथा एमालेका निरन राई समर्थक थिए ।

यस्तै, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात-लिम्बुवान-सगरमाथा प्रदेश’ नामकरणका लागि दर्ता गराएको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत गरेको छ ।

६ वटा प्रदेशले अघिल्लो कार्यकालमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसक्दा आलोचना हुँदै आएको थियो । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ को नामकरणका लागि ६३ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृतका ४ र जसपाका १ जना सांसद छन् ।

यसैबीच, प्रदेशसभा बाहिर भने किरात-लिम्बुवान नामकरण गर्न माग गर्दै प्रदर्शन भएको छ ।

प्रदर्शन चर्किन सक्ने भन्दै आज दिउँसोदेखि विराटनगरका केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले मोरङले निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update