Canmandu
नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा इटालीका भेन सेन्जो नियुक्त

 इटालियन भेन सेन्जो अल्बर्टो एनेस, नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको आज (बुधबार) बसेको चौथो कार्यसमिति बैठकले एक महिनादेखि रिक्त राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक भेन सेन्जो नियुक्त गरेको हो ।

३८ वर्षीय प्रशिक्षक युरोपेली फुटबल महासंघ युएफा लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनी पछिल्लो समयमा भारतको इन्डियन सुपर लिग क्लब नर्थ इस्ट युनाइटेडमा आबद्ध थिए । उनकै नेतृत्वमा गोकुलम एफसीले लगातार दुई सिजन आई लिगको उपाधि उचालेको थियो ।

२०२० पछि नेपालको नेतृत्व गर्ने उनी पहिलो युरोपेली प्रशिक्षक हुन् । त्यसअघि स्विडिस प्रशिक्षक योहान कालिनले नेपालको नेतृत्व सम्हालेका थिए । त्यसपछि कतारी अब्दुल्ला अल्मुताइरी, प्रदीप हुमागाई तथा प्रवेश कट्‌वालले नेपाली फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

यस्तै चैत ६ देखि १७ गतेसम्म आयोजना हुने थ्री नेसन्स् कपको नाम प्रधानमन्त्री थ्री नेसन्स कप राखिने भएको छ। चैत २० देखि २८ गतेसम्म ओलम्पिकअन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिता आयेजना गरिने बैठकले निर्णय गरेको छ ।

साथै सहिद स्मारक बी डिभिजन लिग चैत २९ तथा सी डिभिजन लिग आगामी जेठ १६ गतेबाट आयोजना गरिने भएको हो । महिला राष्ट्रिय लिगको दोस्रो भने चरण नहुने भएको छ । रौतहट एकेडेमीको कानुनी समस्या समाधान गरी चाँडै १४ वर्ष उमेर समूहको एकेडेमी सञ्चालन गर्ने जनाइएको छ । राष्ट्रिय फुटसल लिगको दोस्रो संस्करणको नयाँ मिति छिटै तोकिने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update