Canmandu
मार्च १८ मा एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल आयोजना हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा आगामी मार्च १८ (चैत ४) मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ।

एनआरएनए अस्ट्रेलियाले नेपाली भाषा, कला, संस्कृतिको पहिचान प्रदर्शन गर्दै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक दुई-दुई वर्षमा अस्ट्रेलियाका प्रायः सबै राज्यमा नेपाल फेस्टिवलको आयोजना गर्दै आएको छ।

आगामी मार्च १८ तारिख बिहान ९.३० बजे एडिलेडको स्थानीय रन्डल महलबाट नेपाली झाँकीसहितको पदयात्रा हुने छ। त्यसैगरी साँझ ९ बजे ‘यो मन त मेरो नेपाली हो’  नेपाली गीतको संगीतमा आतसबाजी हुने कार्यक्रम रहेको एनआरएनए अष्ट्रेलियाकी उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले जानकारी दिइन्।

संयोजक लामाले महोत्सवमा साना ठूला गरी ४० वटा स्टल राखिने र जसमा नेपाली खानाका परिकार एवं शैक्षिक परामर्शदाताका स्टल रहनेछन्।

महोत्सवमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीसन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलको उपनेता जिङ ली, संसद सदस्य, विभिन्न नगरका मेयरको उपस्थिति रहने छ।

साउथ अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै नेपाली समुदायका कार्यक्रम र गतिबिधि पनि बढ्दै गएका छन्। जसका कारण सरकारी तवरबाट नेपाली समुदायप्रति चासो र महत्वका साथ हेर्न थालिएको छ। महोत्सवमा गरिने सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट प्रिती आले, प्रकाश सपुतलगायतका कलाकारहरु आउनेछन्।

यस पटकको एडिलेड फेस्टिवलमा हजारौंको संख्यामा दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजक बुमरेङ ईन्टरनेशनलका निर्देशक आशिष बाग्ले र टोरेन्स युनिभर्सिटीका मुख्य कार्यकारी टोमेन मोक्वाचरले प्रवासमा नेपाल प्रवर्धन गर्ने नेपाली समुदायको यो पबित्र अभियानमा जोडिन पाउँदा आफूहरूलाई गौरवको महसुस भएको बताउदै यस्ता सामाजिक सत्कार्य र कल्याणकारी कार्यमा आफुहरुको सदैव साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गरे।

महोत्सवलाई सफल बनाउन मिडिया समवन्य, परेड व्यवस्थापन, स्टल व्यवस्थापन लगायतका विभिन्न १४ उपसमिति गठन गरिएको  संयोजक रेनुका लामाले बताईन्।

महोत्सवलाई सफल पार्न एडिलेड र त्यसको वरिपरी बसोबास गर्ने नेपाली सामाजिक संघ संस्था र समुदायको भूमिका महत्वपूर्ण हुने उनले जानकारी दिइन्।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update