Canmandu
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगियो, ग्लोबल छनोटको सम्भावना बलियो

नेपालले आईसीसी विश्व क्रिकेट लिग टुमा यूइएईमाथि १७७ रनको कीर्तिमानी जित हात पारेको छ । कप्तान रोहित पौडेल र ललितनारायण राजंवशीले उत्कृष्ट प्रदर्शन गरे । यो जितपछि नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले निरन्तरता पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रनमा अलआउट भयो । नेपालको सुरुवात निकै खराब थियो । नेपालले सात ओभर एक वलमा टिमको स्कोर २२ रन हुँदा तीन विकेट गुमायो । आसिफ सेख शून्य, कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रनमा आउट भए ।

चौथो विकेटका लागि कप्तान रोहित र भीम सार्कीबीच ५४ रनको साझेदारी भएपछि इनिङ्स सम्हालिएको थियो । भीमले २९ रन जाडे । पाँचौं विकेटका लागि रोहितले आरिफ सेखसँग ८६ रनको साझेदारी गरेका थिए । रोहित ११२ बलमा ९ चौकासहित ७७ रन बनाएर आउट भए । रोहितको ओडीआईमा यो आठौं अर्धशतक हो । योसँगै उनी नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी बने ।

आरिफले ४३ रन बनाए । गुलसन झाले ३२ बलमा ३७ र दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रनको विस्फोटक पारी खेले । आयान खान, रोहन मुस्तफा, जाहुर खान, जावर फरिदले दुई-दुई विकेट लिए । जवाफी ब्याटिङ थालेको यूएई २२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्रै ७१ रनमा समेटियो ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि यूएईका आठ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । तीन खेलाडीले खाता खोल्न सकेनन् । ललितले सर्वाधिक पाँच विकेट लिए । उनले सात दशमलव पाँच ओभर बलिङ गर्दा २० रन खर्चिएका थिए ।

सन्दीप लामिछानेले दुई विकेट हात पारे । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक-एक विकेट हात पारे । नेपालले ओडीआईमा हात पारेको यो सबैभन्दा फराकिलो रन अन्तरको जित हो । यसअघि पपुवा न्युगीनीविरुद्ध १५१ रनको जित अन्तरको कीर्तिमान नेपालले तोडेको हो ।

जितसँगै नेपालले ओडीआई मान्यतालाई निरन्तरता दिँदा यूएईले भने शीर्ष पाँचमा रहँदै सीधै ओडीआई मान्यता जोगाउने अवसर गुमाएको छ । नेपलले यूएईलाई पराजित गरेसँगै अमेरिकाले भने पाँचौं स्थानमा रहँदै ओडीआई मान्यता बचाउने पक्का भयो ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update