Canmandu
काठमाडौं-सिड्नी-काठमाडौं सिधा उडान हुने!

नेपाल एयरलाइन्सले काठमाडौं-अष्ट्रेलिया-काठमाडौं सिधा उडान गर्ने भएको छ।

सरकारले अष्ट्रेलिया उडानका लागि नेपाल एयरलाइन्सलाई आधिकारिक जहाज तोकेसँगै अब यात्रुले काठमाडौं-अष्ट्रेलिया-काठमाडौं सिधा उडानमार्फत यात्रा गर्न पाउने भएका छन्।

सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच भएको हवाई सम्झौताको चार वर्षपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सलाई अस्ट्रेलिया उडानको लागि आधिकारीक बायु सेवा तोकेको हो।

सरकारको यो निर्णयलाई अस्ट्रेलियास्थित नेपाली ‍दूतावासले अष्ट्रेलियन सरकारको सम्बन्धित निकायमा पत्राचार गरेसँगै उडानको प्रारम्भीक ढोका खुलेको हो।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि नेपाल एयरलाईन्सको नाम पठाइएको जानकारी दिए।

‘कुनै पनि दुई राष्ट्रबीच हवाइ सेवा सुरू गर्नुअघि आधिकारीक रूपमा सम्वन्धित मुलुकले विमान कम्पनीको नाम तोक्नुपर्छ सोही अनुसार नेपाल एयरलाइन्सको नाम सरकारले पठाएपछि हामीले यसबारे जानकारी दिएका हौ’, राजदूत पोखरेलले भने, ‘हवाइ सम्झौता भइसकेपछि सरकारको पछिल्लो कदमले अब नेपाल-अष्ट्रेलिया बीच सिधा उडानको ढोका खुलेको छ।’

राजदूत पोखरेलले बहुप्रतिक्षित विषय अब टुंगोमा पुग्ने विश्वास व्यक्त गर्दै नेपालीको लागि गर्वको विषय भएको प्रतिक्रिया दिए।

‘यो नेपाली समाजको लागि खुसीको विषय हो, किनभने हामी हाम्रै ध्वजाबाहक बिमान चढेर आफ्नो देश आउन-जान पाउँदैछौ। यो गर्वको विषय पनि हो’, राजदूत पोखरेलले भने।

यो निर्णयपछि नेपाल एअरलाइन्सले दुई देश बीचको उडानका लागि सिभिल एभिएसन अथोरिटी अफ अष्ट्रेलियासँग अनुमति लिनुपर्ने हुन्छ र त्यो प्रकृया चाडै अगाडि बढ्ने नेपाली दूतावासका नियोग उपप्रमुख कुल बहादुर मगरले जानकारी दिए।

कोरोनाको महामारी फैलिएको समयमा नेपाल एयरलाईन्सले सिड्नी र मेलबर्नबाट एक एक उडान गरिसकेको छ। यद्यपि आधिकारिक रूपमा कुनै पनि नेपाली ध्वजाबाहक विमानले व्यवसायीक उडान भने गरेका छैनन्।

अष्ट्रेलियामा नेपाली समाजको बढोत्तरीसँगै अबका दिनमा अस्ट्रेलिया-नेपालको सिधा उडान अत्यावश्यक भइसकेको एनआरएन अभियन्ता डा ज्ञानेन्द्र रेग्मीले बताए।

दिनहुँ सयौंको संख्यामा नेपालीहरु अष्ट्रेलियाबाट नेपाल र नेपालवाट विद्यार्थीको अस्ट्रेलिया आउने घुइँचो लागिरहेको बेला यस्तो खबर आउनू राम्रो प्रयास भन्दै उनले चाडै व्यहारमा उतार्नुपर्ने बताए।

‘हामीले धेरै अगाडिदेखि यसको हल्ला सुनेका थियौं तर अहिले आएर कार्यान्वयन पक्षमा केही काम अगाडि बढेको सुनियो। यो खुसीको कुरा हो’, उनले भने, ‘यस्ता महत्वपूर्ण विषयमा हामीले कुरा होइन काम प्रारम्भ गर्नुपर्दछ अनि मात्र यहाँ बस्ने दुई लाख नेपालीले राजदूतावासको महत्व अनुभूती गर्नेछन्।’

यदि नेपाल एयरलाइन्सले साताको दुई दिन मात्र काठमाडौ-सिड्नी-काठमाडौं उडान भर्ने हो भने अष्ट्रेलिया आउजाउ गर्ने हजारौं नेपाली लावान्भित हुने र यात्रा पनि सहज र सुलभ हुने एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए।

‘हरेक दिन तीन दर्जन अभिभावक नेपालबाट अस्ट्रेलिया र अष्ट्रेलियाबाट नेपाल आउजाउ गर्नुहुन्छ। अंग्रेजी नबुझ्ने र ट्रान्जीटको झन्झटीलो प्रकृयाबाट उहाँहरू कति पीडित हुनुहुन्छ त्यो हामीले देखेका छौ’, उनले भने, ‘यदि काठमाडौबाट सिधै नेपाली ध्वजाबाहक जहाज अस्ट्रेलिया आउन पाउने हो भने सबैका लागि सहज र सुविधा हुने थियो।’

अष्ट्रेलियामा हाल करिब २ लाख नेपाली बसोबास गर्छन्। यीमध्ये अधिकांश विद्यार्थी छन्। अष्ट्रेलियामा अध्ययन गर्न आउनेमध्ये नेपाल संख्याका हिसाबले तेस्रो नम्बरमा पर्छ। तर, अष्ट्रेलियाका लगि कुनै पनि नेपाली विमान कम्पनीले उडानका लागि पहल नगर्दा यात्रुले सास्ती पाउँदै आएका छन्।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update