Canmandu
अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै

अस्ट्रेलियामा नेपालीको स्वामित्वमा खुलेको पहिलो रियल स्टेट विसले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ।

नेपालीकै लगानीमा रहेको अर्को रियल स्टेट कम्पनी एम्पल मिसिएपछि विस रियलस्टेटले आफ्नो दायरा फराकिलो बनाएको हो।

शनिबार सिड्नीमा आयोजित एक कार्यक्रमबीच दुई कम्पनी एकआपसमा मर्ज भएर व्यवसाय अगाडि बढाउने सम्झौता गरेका हुन्।

कार्यक्रममा एम्बलका पूर्णनाथ घिमिरेलगायतको टोलीलाई विसको टाइ लगाएर कल्याण कँडेल र शिविर श्रेष्ठले स्वागत गरेका थिए।

घिमिरेसँगै जीवन शर्मा, भरत ज्ञवाली, सुनिल भण्डारी, भोला थापा, दिलु केसी, अभिशेक पाठक रविन्द्र सापकोटालाई विसमा स्वागत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विस रियलस्टेटका प्रमुख कल्याण कँडेलले नेपाली व्यवसायीबीच प्रतिस्पर्धा गर्नुभन्दा मिलेर अन्य समुदायसँग प्रतिस्पर्धा गर्नु आजको आवश्यकता रहेको बताए। 

कँडेलले एम्पलसँगको सहकार्यले विसको टिम ठूलो मात्र नभएर यसको दायरा पनि फराकिलो भएको दाबी गरे।

कार्यक्रममा बोल्दै एम्पलका पूर्णनाथ घिमिरेले रियलस्टेटको प्रतिस्पर्धात्मक बजारमा आपसी एकता र भाइचाराको आवश्यकता टड्कारो देखिएकोले एम्पल विसमा समाहित भएर अझ विश्वास थपिएको जिकिर गरे।

अस्ट्रेलियामा नेपालीको स्वामित्वमा रहेको पहिलो रियलस्टेट विसप्रति आम उपभोक्ताले देखाएको विश्वासनै ठूलो पुँजी भएको भन्दै उनले आफूहरू यसमा मिसिएर  यसलाई अझ प्रभावकारी र विस्तारित रूपमा सेवा गर्न चाहेको बताए।

अष्ट्रेलियामा पछिल्लो समय नेपालीको बढ्दो उपस्थितिसँगै यसको दायरा फराकिलो बनाउन लागेको हो।

अस्ट्रेलियामा नेपाली समाज बाक्लिँदै जाँदा सबैखाले ब्यापार ब्यवसाय पनि बढेकोमा खुसी ब्यक्त गर्दै पत्रकार हेमन्त काफ्लेले सबैखाले ब्यवसायमा नेपालीको सहभागिता भएका कारण पनि आफूहरूलाई पनि प्रवासमा धेरै कुरामा सहज भएको प्रतिक्रिया दिए।

कार्यक्रममा मोर्गेज ब्रोकर नविता काफ्ले, लेख गुरूङ, सामाजिक अभियन्ता डा. ज्ञानेन्द्र रेग्मी, सुरेन्द्र सिग्देल, डा राजु माननधरलगायतले सानो समयमा तीव प्रतिस्पर्धा बीच मनग्य सफलता हात पारेकोमा बधाई दिँदै सफलताको शुभकामना दिए।
कार्यक्रममा विसका संस्थापक सिताराम घिमिरे, किरण श्रेष्ठ, शैलेन्द्र श्रेष्ठले कम्पनीको आगामी कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए।

कार्यक्रममा विसको सेन्ट्रलकोष्ट शाखाका विकाश काफ्ले, राकेश थापा, कुमार खकुरेल, प्रमोद न्यौपाने, बाबु कडरिया, राजुकमार सापकोटा, दिप थापा, सुजन श्रेष्ठ, दिपेन्द्र उप्रेती र रविन्द्र उप्रेती लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update