Canmandu
सातौंपटक मन्त्रिपरिषद् विस्तार, रक्षामा पूर्णबहादुर खड्का र गृहमा नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालले ३ महिनाको अवधिमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शीतलनिवासमा शुक्रबार अपराह्‌न राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई शपथग्रहण गराए ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

कांग्रेसबाट पहिलो चरणमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भएका छन् भने अर्थमन्त्री प्रकाशशरण महत बनेका छन् । यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल बन्दा सहरी विकासमन्त्री सीता गुरुङ बनेकी छन् । दलहरुको भागबन्डामा आठवटा मन्त्रालय पाएको कांग्रेसले चार मन्त्री पठाएको छ भने बाँकी चार मन्त्री आन्तरिक विवादका कारण पठाउन सकेको छैन ।

यस्तै माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्ति बस्नेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रप्रसाद राय यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती र सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी नयाँ सरकारमा अटाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्दा लोसपाका शरत्‌सिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बनेका छन् ।

यस्तै एकीकृत समाजवादीतर्फबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । जसपाका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई बनेका छन् । सातौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि प्रधानमन्त्री दाहालसँग अझै ६ वटा मन्त्रालय बाँकी छन् । जसमा कांग्रेसका ४ र जसपाका लागि एक मन्त्रालय छुट्याइएको छ । खानेपानी मन्त्रालय पनि खाली छ । आजै खानेपानी मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।  प्रधानमन्त्रीसँग बाँकी रहेका मन्त्रालयमा खानेपानीसँगै परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय छन् ।

यी हुन् दाहाल नेतृत्वका मन्त्री र मन्त्रालय :

नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरु

  • पुष्पकमल दाहाल : प्रधानमन्त्री
  • नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री तथा गृह
  • रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधि
  • शक्ति बस्नेत : ऊर्जा, जलस्रोत तथा सिंचाइ
  • सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • अमनलाल मोदी : सामान्य प्रशासन
  • सुशीला श्रीपाइली : संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री

नेपाली कांग्रेसबाट मन्त्री भएकाहरु

  • पूर्णबहादुर खड्का : उपप्रधान तथा रक्षा
  • प्रकाशशरण महत : अर्थ
  • रमेश रिजाल : उद्योग, वाणिज्य तथा आपूर्ति
  • सीता गुरुङ : सहरी विकास

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु

  • वेदुराम भुसाल : कृषि तथा पशुपक्षी विकास
  • प्रकाश ज्वाला : भौतिक पूर्वाधार तथा यातायात

जनता समाजवादी पार्टी मन्त्री भएका

  • अशोक राई : शिक्षा, विज्ञान तथा प्रविधि

लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री भएका

  • शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा

नेपाल समाजवादी पार्टीबाट मन्त्री भएका

  • महिन्द्र राय यादव : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका

  • रञ्जिता श्रेष्ठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update