Canmandu
शुक्रबारदेखि क्यानबेरामा ओसेनिया स्पोर्टस मिट 

आगामी शुक्रबारबाट ओसेनिया क्षेत्रमा रहेका नेपाली मुलका खेलाडी सम्मिलित ‘ओसेनीया नेपाली स्पोर्टस मीट २०२३’ हुँदैछ।

राजधानी क्यानबेरामा चार दिनसम्म चल्ने प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्यान्डका ७ सय बढी खेलाडीले सहभागिता जनाउनेछन्।

आयोजक समितिका संयोजक दुर्गादत्त कँडेलका अनुसार यस क्षेत्रका नेपाली मुलका खेलाडीका लागि मिनी ओलम्पिकका रूपमा चिनिएको प्रतियोगितामा क्रिकेट, गल्फ, फुटबल, भलिबल, लनटेनीस, ब्याडमिन्टन, बास्केटबल, टेबल टेनिस, पौडी, ५ किमी दौडलगायतका १० खेल समावेश हुनेछन्।

प्रतियोगिता आयोजनाले यस क्षेत्रमा नयाँ प्रतिभाको पहिचान हुनुका साथै पुरानाका लागि अवसर हुने ओसियाना नेपाली खेलकुद प्रतियोगिताको संस्थापक संयोजक एवम वर्तमान संरक्षकसमेत रहेका कँडेलले जानकारी दिए।

करिब १ करोड २० लाख रूपैया खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई अस्ट्रेलियन नेप्लीज फ्रेन्डसिप सोसाइटी र एनआरएनलगायतका संघ संस्थाले सहयोग गरेका छन्।

सन् २०१३ बाट सुरू भएको प्रतियोगिताको यो पाँचौं संस्करण हो। 

सिड्नीबाट सुरू भएको प्रतियोगिता मेलबर्न र ब्रिसबेनलेसमेत यसअघि सफल आयोजना गरिसकेका छन्। राजधानी क्यानबेरामा भने पहिलो पटक आयोजना हुन लागेको हो।

आपसी भाइचारा र खेलकुदको महत्वलाई मध्यनजर गर्दै सुरू भएको प्रतियोगिता आजका दिनमा आइपुग्दा यसले पहिचानको उद्धेश्य पनि बोकेको ओसेनीया नेपाली स्पोर्टस मीट २०२३ का संयोजक आर्दशजंग पाण्डेले बताए। 

‘खेलुकद स्वस्थ्य नागरिकका लागि मात्र होइन, मुलुकको पहिचानको लागि पनि महत्वपूर्ण बन्दै आएको छ’, उनले भने, ‘यसले प्रतिभा पहिचान र प्रस्फुटनको पनि बाटो पहिल्याएको छ।’

पछिल्लो समय नेपालबाट राष्ट्रिय फुटबल टोलीका दर्जनौं खेलाडी मौकाको खोजीमा अस्ट्रेलिया आइपुगेको भन्दै उनले उनीहरूजस्ता युवाका लागि पनि यो राम्रो अवसर भएको संयोजक पाण्डेले बताए।

प्रतियोगिताका परिकल्पनाकार मध्येका एक बिष्णु हमालले स्वस्थ्य नागरिक निमार्णमा खेलुकदको भूमिका महत्वपूर्ण रहेकाले यस्ता प्रतियोगिताले नेपालीबीच आपसी भाइचारा र एकताको शन्देश छर्ने बताए।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update