Canmandu
तनुहँ-१ मा फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले निर्वाचित

तनहुँमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । ३४ हजार ४८० मतका साथ उनी निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वचनअन्तर्गत आइतबार भएको मतदानमा वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ३८८ मतले पछि पारे । भट्टराईले २० हजार ९२ प्राप्त गरे ।

त्यस्तै, नेकपा एमालेका उम्मेद्‍वार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत पाए ।

तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए। त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए।

वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको घोषणा गरेपछि त्यसै दिन राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई तनहुँ-१ बाट उम्मेदवार बनाएको थियो। उनले कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणाका कारण पार्टी छाड्नुपरेको गुनासो पोखेका थिए।

गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले स्नातक तहको अध्ययन बिएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए भने विद्यालय स्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गरेका थिए।

कांग्रेस राजनीतिमा रहँदा उनलाई सुशील कोइरालाको प्रधानमन्त्री कालमा अमेरिकाबाट बोलाएर राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको थियो। नेपाल फर्किनुअघि उनी विश्व बैंकको वासिङ्टनस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत थिए। उनले युएनडिपीको वरिष्ठ अर्थशास्त्रीका रूपमा मुख्यालय न्यूयोर्क, भियतनामको राजधानी हनोइ र श्रीलंकाको राजधानी कोलम्बोमा रहेर पनि काम गरिसकेका छन्।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी दोस्रोपटक योजना आयोगको सदस्य बने भने अघिल्लोचोटि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाग्लेले योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए।

२०७२ को भुइँचालोपछि वाग्लेकै अगुवाइमा विपतपश्चातको आवश्यकता आकलन (पिडिएनए) तयार गरिएको थियो। यसै आधारमा नेपालले पुनर्स्थापना र पुनर्निर्माणका लागि चार अर्ब अमेरिकी डलर बराबरको विकास सहायता जुटाएको थियो। उक्त सहायता जुटाउन आफूले महत्वपूर्ण काम गरेको वाग्लेले बताउँदै आएका छन्।

कांग्रेसको तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले वाग्लेलाई महासमिति सदस्यमा मनोनीत गरेका थिए। २०७० र २०७४ को आमनिर्वाचन तथा २०७९ वैशाखमा भएको स्थानीय तह र मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्रममा उनी पार्टीको घोषणपत्र तयार पार्न संलग्न थिए।

अन्तर्राष्ट्रिय छवि कमाएका वाग्ले अन्तर्राष्ट्रिय निकायको उच्च ओहोदामा बसेर पाएको सुविधा छाडेर राजनीतिमा सक्रिय हुन आएका थिए। आफ्नो अपेक्षाविपरीत कांग्रेसले टिकटबाट वञ्चित गरेपछि उनी विकल्पको खोजीमा स्वतन्त्र पार्टीसँग आबद्ध भएका हुन्।

उनी २०७८ असारमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गर्न गएका थिए। त्यति बेला कांग्रेसका विभिन्न नेतासँग सल्लाह गरेर उनीहरूकै सुझावअनुसार युएनडिपीमा काम गर्न गएको वाग्लेले बताउँदै आएका छन्। नेपालमा चुनाव लड्ने अपेक्षा राखेर उनी २०७९ असारमा फर्किएका थिए।

दक्षिण एसियाली थिंक ट्यांक सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस) को अध्यक्षसमेत रहेका वाग्लेले काठमाडौं विश्वविद्यालयको सिनेटमा र अन्य गैरनाफामूलक संस्थाको सल्लाहकार रहेर काम गरेका छन्। उनी विश्व बैंकको दक्षिण एसिया ‘च्याम्पियनिङ एन्ड भिजनिङ प्रोसेस’ का विशिष्ट सदस्यसमेत हुन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update