Canmandu
अनिल अष्ट्रेलियाको अध्यक्ष र बिनोद एनएसडब्लु संयोजकमा उमेदवारी दिने

राजनीतिक किचलोमा सधैं अल्मलिएर आकर्षणमा कमि देखिएको एनआरएन अष्ट्रेलियाको नेतृत्वमा युवा व्यवसायीले नेतृत्वमा दाबी गरेका छन्।

सामाजिक सेवामा समर्पित गैर आवासीय नेपाली संघको नेतृत्वमा सधै राजनीतिक किचलोका कारण व्यवसायीक दक्ष युवाको आकर्षण घटेको आरोप लागिरहँदा एनआरएन अस्ट्रेलियाको नेतृत्वमा यस पटक युवाको आकर्षण बढेको हो।

यस पटक नेतृत्वको भिडमा युवा अभियन्ता अनिल पोखरेलले अध्यक्षमा र आइटी इन्जिनियर विनोद कुँवरले उपाध्यक्ष (एनएसडब्लु संयोजक) मा उमेदवारी दिने घोषणा गरेका छन्।

राजनीतिक परिवेशको प्रतिस्पर्धाबाट टाढा रहेर अनिलले यस पटक जुलाइ अन्त्यमा हुने निर्वाचनमा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेका छन्।

पेशाले चार्टर्ड एकाउन्टेन्ट र कमाइका हिसाबले आकर्षक तलब भए पनि सामाजिक सद्‍भाव र संगठनात्मक प्रभावलाई नजिकबाट नियालेका अनिलले आफूलाई एनआरएन अभियानमा सहभागी गराउने निर्णय गरेका हुन्। 

पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका अनिलले संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएका थिए। 

आफ्नो कार्यकालदेखि मात्र त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको अनिलले बताए। 'यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको  छ, त्यसबाहेक कोषाध्यक्षका रुपमा मैले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु,' उनले भने।

दुई पटक कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनिलले यस पटक भने आफूलाई नेतृत्वमा दाबी गरेका छन्।

'मुख्य कुरा मेरो दक्षता र अनुभवलाई समाजिक अभियानमा जोडर संस्थागत परिचयलाई बलियो बनाउनु अहिलेको अभियान हो। हामी युवा जो यस अभियानमा लागेका छौ, यसबाट के पाइन्छ होइन, हामीले धेरै कुरा दिनु पर्छ भन्ने मानसिकताका साथ मैदानमा उत्रेका छौ', उनले भने, 'त्यसैले यस पटकको मेरो अभियानलाई अस्ट्रेलियन नेपाली समाजले स्वीकार गरिनिुहुने विश्वास लिएको छु।'

आकर्षक कमाइ र घर परिवार छाडेर किन समाजसेवामा भन्ने प्रश्नमा अनिलको फरक जवाफ छ। 'हामीले पढाइ सकेर दक्षताका हिसाबले आकर्षक जागिर पाइसकेका छौ, आफूले सिकेको शिप र ज्ञानलाई संस्थागत रुपमा मुलुकसम्म पुर्‍याउन सकिन्छ भन्ने पहिलो सोच हो। अर्को कुरा एनआरएनले अझसम्म अस्ट्रेलियामै बसेका र जन्मेका दोस्रो पुस्ताका लागि केही गर्न सकेको छैन, उनीहरूको लागि भाषा कक्षादेखि नेपालसँग जोड्ने अभियानको थालनी गर्नुपर्ने दोस्रो जिम्मेबारी देखेको छु', अनिलले भने। 

विद्यार्थीका रूपमा २० वर्षको उमेरमा अस्ट्रेलिया आएका चितवनका अनिलले करिब डेढ दशक अस्ट्रेलियाको नेपाली समाजलाई नजिकबाट नियालेका छन्।

सिड्नीका युवाको संगठन नेप्लीज युथ एशोसिएसन अस्ट्रेलिया, चितवन समाज अष्ट्रेलियालगायत संघ संस्थासँग आवद्ध भएर काम गरिसकेका अनिलले आफूले एनआरएन अष्ट्रेलियाको नेतृत्व लिन तयार रहेको बताएका छन्।

यस्तै अर्का युवा आइटी इन्जिनियर बिनोद कुँवरले पनि एनआरएन एनएसडब्लुको संयोजकमा उमेदबारी दिने भएका छन्। 

आइटीका प्राध्यापक बिनोद नेपाली विद्यार्थीबीच लोकप्रिय नाम हो। उनले पढाइ सकेर दक्षता अनुरुप काम नपाएका हजारौं नेपाली युवालाई व्यवशायीक काममा जोड्ने अभियान चलाएका छन्। 

विशेषतः आइटी पढेका तर काम नपाएका हजारौं विद्यार्थीलाई उनले दक्षता र शिप शिकाएर काम दिलाउन सफल उनि अस्ट्रेलियन युवा जमातमा परिचित अनुहार हुन्।

गुल्मी स्थायी घर भएका बिनोद यतिखेर रूपन्देही जिल्लामा निजी क्रिकेट मैदान तथा स्पोर्टस सेन्टर निमार्णको अभियानमा जुटेका छन्। 

खेलकुदको माध्यमवाट मुलुकको पहिचान उजिल्याउन सक्ने कुरालाई राम्ररी बुझेका बिनोद एनआरएनमा युवा र दक्ष युवाको प्रवेश अहिलेको आवश्यकता रहेको औल्याउँछन्। 

'दक्ष र शिपयुक्त नेतृत्व अहिले एनआरएनको आवश्यकता हो, त्यसैले पनि हामी युवाहरु प्रवासी नेपाली र मुलुकका लागि केही गरौं भन्ने सोचका साथ एनआरएन अस्ट्रेलियाका नेतृत्वको अभियानमा जोडिएका हौ', बिनोदले भने, 'राजनीति आफैंमा गलत विषय होइन तर सामाजिक सेवा र परोपकारी अभियानमा यसलाई जोड्न हुन्न भन्ने हाम्रो धारणा हो।'

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update