Canmandu
एनआरएनको च्यारिटी कार्यक्रम् जनविरोधी भएको भन्दै बहिष्कार गर्न अभियन्ताको आग्रह!

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाले शनिवार सिड्नीमा 'सबैको लागि शिक्षा' भन्ने मूल नाराका साथ एजुकेशन फर अल च्यारिटी कार्यक्रम गर्ने भएको छ।

नेपालका ग्रामीण भेगमा रहेका विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य राखी हुन लागेको कार्यक्रममा राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाही, नायिका करिश्मा मानन्धर, गायीका त्रिशला गुरूङ, एनआरएनए आईसिसी अध्यक्ष रविना थापालगायतको सहभागिता रहनेछ।

एनआरएनए आईसीसीले सन् २०१९ देखि सामाजिक कार्य गर्ने उद्देश्यले सात प्रदेशमा सात वटा विद्यालयलाई सहयोग गर्न सुरु गरेको परियोजनाको सहयोगी योजनाका रूपमा गर्न लागिएको छ।

विशुद्ध सामाजिक कामको लागि आयोजना हुन लागेको च्यारिटी कार्यक्रममा ज्ञानेन्द्र शाही जस्ता राजनीतिक व्यक्तित्वको सहभागितालाई लिएर मत भिन्नता देखिएको छ।

अध्यक्ष गुरुङले आफ्नो कार्यकाल सकिन लाग्दा विवादित व्यक्तिलाई निम्त्याएर संस्थालाई नै विवादमा ल्याएको अभियन्ताहरूले आरोप लगाएका छन्।

एनआरएनको कार्यक्रम जनविरोधी भएकोले बहिष्कारको अपील

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई अतिथि बनाएर एनआरएन अस्ट्रेलियाले आफ्ना हजारौं सदस्यको भावना विपरित कार्यक्रम गर्नु आपत्तीजनक रहेको सिड्नीका पहिचानवादीले आरोप लगाएका छन्।

करिब आधा दर्जन ब्यक्ति बोलाएर गर्न लागेको च्यारीटी कार्यक्रम यहाँका जनजाती तथा पहिचानवादीको समूहले एनआरएनको बुहसंख्यक सदस्यताको भावना बिपरित राजनीतिक षडयन्त्र भएको बताएका छन्।

कार्यक्रममा बोल्दै एनपीएपीएफका प्रतिनिधी टंक सापकोटाले एकात्मक शासन प्रणालीका पक्षधर र गण्तन्त्र विरोधी ब्यक्ति बोलाएर एनआरएनले जग हँसाएको बताए।

सापकोटाले एनआरएनको यस्तो गतिविधिले नेपाल र नेपाली जनतामाथिको कुठाराघात हुने भएकाले सबैले विरोध गर्नुपर्ने जिकिर गरे।

कार्यक्रममा बोल्दै एनआरएनका युवा अभियन्ता तीर्थराज कार्कीले साझा संस्थाका रुपमा पहिचान बनाएको एनआरएनले राजनीतिक पूर्वाग्रह बोकेर यस्ता कार्यक्रम गर्न नहुने बताए।

यस्तै कार्यक्रममा निन्फाका पेम्बा लक्ष्मण गुरूङले एनआरएनको यस्तै यस्तै कार्यले यसको अस्तित्वमाथिनै संकट आएको सुनाए।

'एनआरएन राजावादी र नस्लवादको पक्षपोषण गर्ने संस्था बन्नु दुर्भाग्य हो। यसको खुलेर विरोध मात्र हैन बहिष्कार समेत गर्नुपर्दछ', गुरूङले भने।  

अर्का पहिचानवादी नेता चित्र तुम्बाहम्फेले राजनीति गर्नुहुन्न भन्ने संस्थाका पदाधिकारीलेनै राजनीति गरिरहेको देख्दा यसको चरित्रमाथि शंका गर्ने ठाउँ रहेको बताए।

'एनआरएनको काम राजनीतिक नेता बोलाएर भाषण गराउने हो कि, सामाजिक सदभाव कायम गर्ने हो। त्यसमाथि पनि गणतन्त्र विरोधी बोलाएर कार्यक्रम गर्नु आफैंमा हाँस्यासपद विषय बनेको छ', तुम्बाहम्फेले भने।

निम्फाका नेता अरूण तामाङले गणतन्त्र विरोधी शक्तिहरू बोक्नु एनआरएनको ठूलो भुल भएको बताए। 'एनआरएनले गर्न के खोजेको हो, यसका हजारौ सदस्यको भावना विपरित कार्यक्रम गरेर लोकतन्त्रको उपहास गर्नु आपत्तीजनक विषय हो, यसको हामी घोर भत्सर्ना गर्दछौ,' तामाङले भने।

कार्यक्रममा पत्रकार महासंघका सल्लाहकार डा राजु मानन्धर, सुमन न्यौपाने, सिमा सुब्बा, सनिता लामा, चिराग प्रधान, दिनेश कुमार लामा, यम धिताललगायतको उपस्थिति थियो।

यस्तै आदिवासी जनजाति महासंघ अष्ट्रेलियाले एक प्रेश विज्ञप्ति जारी गर्दै एनआरएनले आदिवासी जनजातिको अधिकारविरुद्ध राजतन्त्रको वकालत गर्ने ब्यक्ति ल्याउनु संस्थाको उद्देश्य विपरित र सदस्यको भावना विपरित भएको भन्दै विरोध गरेको छ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update