Canmandu
एनआरएन अष्ट्रेलीयाको अध्यक्षमा अनिल पोखरेल र महासचिवमा सन्तोष कुँवर विजयी

गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा युवा अभियन्ता अनिल पोखरेल निर्वाचित भएका छन्।

शनिबार भएको मतदानमा देव गुरूङ र डिला खरेललाई भारी मतान्तरले हराउँदै आगामी दुई वर्षका लागि पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन्।

पोखरेलले ५ हजार २ सय ६७ मत ल्याउँदा अध्यक्षका प्रत्यासी गुरूङले ३ हजार ३ सय ८० र खरेलले ३ हजार ३ सय ४७ मत पाएका थिए। 

मतदानमा अस्ट्रेलियाभरका १४ हजार ५ सय ६२ मतदातामध्ये १२ हजार ६ सय १७ जना अर्थात ८६.६४ प्रतिशतले मतदान गरेका थिए।

अघिल्लो दुई कार्यकाल कोषाध्यक्षमा निर्वाचित पोखरेल पेसाले चार्टड एकाउन्टेन्ट हुन्। 

जितपछि अध्यक्ष पोखरेलले निर्वाचनमा सहभागी भएर पहिलो र दोस्रो हुने लोकतान्त्रिक प्रकृया भएकोले यो सबैको जित भएको बताए। 

'यस अभियानमा जित हार हुँदैन भन्नेमा मेरो विश्वाश छ। मलाई लाग्छ, समाजको लागि केहि गर्छु भनेर हिड्ने व्यक्तिले कहिले पनि हार्दैन', उनले भने, 'हाम्रो कार्यकालमा सबै साथीहरूको उर्जालाई एकीकृत गर्दै समाज रूपान्तरणमा लाग्नेछु। आफूले निर्वाचनको बेला प्रण गरेका प्रतिवद्धताहरु पुरा गर्नेछौ।'

यस्तै महासचिवमा क्विन्सल्याण्डका सन्तोष कुँवर विजयी भएका छन् भने सचिवमा थिर गुरूङ, कोषाध्यक्षमा अर्जुन गौतम, सह-कोषाध्यक्षमा रोजी पन्त, युवा संयोजक सुमन बोहरा र सहसंयोजकमा दीमन राजोपाध्याय विजयी भएका छन्। यसैगरी युवा सचिवमा पुकार घिमिरे र युवा कोषाध्यक्षमा अस्मिन घिमिरे निर्वाचित भएका छन्।

आठ राज्य मध्य दक्षिण अस्ट्रेलियामा सञ्जयराज पुरी, नर्दन टेरीटोरीमा सञ्जिव ढकाल, क्वीन्सल्यान्डमा शम्भु घैसे, क्यापिटल टेरीटोरीमा विक्रम सुवेदी र पश्चिम अस्ट्रेलियामा शेखर घिमिरे यसअघि नै सर्वसम्मत भइसकेका छन्।

बाँकी ३ राज्यमा निर्वाचन मार्फत संयोजक चयन भएको हो। जसमध्ये न्यु साउथ वेल्समा विनोद बहादुर कुँवर, भिक्टोरियामा मणिरत्न सापकोटा र तास्मानियामा जगदीश खड्का निर्वाचित भए।

राज्य संयोजकका लागि सबैभन्दा बढी न्यु साउथ वेल्समा ४ जनाले उम्मेदवारी दिएका थिए।

जसमा विनोद कुँवरले १०१२ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिश्पर्धी शन्ध्या शाहले ९६६ मत पाइन्। यस्तै अशोक उप्रेतीले ८७५ मत पाउँदा स्वतन्त्र उमेदवार स्वीकृती राज्य लक्ष्मी भट्टले ४४५ मत पाइन्।

एनआरएनएको महिला संगठन नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईँ र सह संयोजकमा रत्ना गौतम निर्विरोध चयन भए। नारी निकुञ्जकै सचिवमा अर्चना गौतम निर्वाचित भएकी छन् भने कोषाध्यक्षमा मनिला पाण्डे निर्विरोध छानिएकी छन्।

निर्वाचन मार्फत एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि ८ जना सदस्य निर्वाचित भएका छन्। जसमा सर्वाधिक मतसहित डिल्ली ढकाल निर्वाचित भए। यस्तै सुजन अधिकारी, दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल र भरतराज पौडेल आइसीसी सदस्यमा चुनिएका छन्। 

एनएसडब्लु राज्य निर्वाचन समितिका संयोजक सिशिर नेपालले निर्वाचन निस्पक्ष र सौहार्द रूपमा सम्पन्न भएको बताए।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update