Canmandu
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा हरिप्रसाद भट्टराईको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट वर्तमान कार्यसमितिका उपसंयोजक हरिप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघ मलेसियाले आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले आफ्ना प्रतिबद्धतासहित क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनएको आगामी अक्टोरबरमा हुने ११ औं महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गर्दै भट्टराईले एसिया प्यासिफिक क्षेत्रको आवाज बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भट्टराईले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा आगामी २०२३–२५ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन्।

‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार, श्रमिक मैत्री एनआरएनए मेरो सरोकार’ भन्ने मूल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका भट्टराईलाई एनआरएनए मलेसियाले सर्वसम्मत क्षेत्रीय संयोजकमा पठाउने निर्णय गरिसकेको छ।

एनआरएनए मलेसियामा रही लामो समयदेखि एनआरएनएका हरेक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका उनले एनआरएनएजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यतालाई विश्वास राख्दछन्।

एनआरएनएको केन्द्रीय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित, बाढीपीडित हुँदै कोभिड पीडितसम्मलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएका भट्टराईले एनआरएनए मलेसियाको २०१९–२१ कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर सर्वसम्मत नेतृत्व हस्तान्तरण गरेका थिए।

एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा भट्टराईले आफ्नै कार्यकालमा एनआरएनए मलेसियाको कार्यालय स्थापना गर्न सफल भएका थिए।

उनी आफैंले मलेसियन रिंगेट ५० हजार (नेपाली रु. १४ लाख रुपैयाँ) जम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौं नेपालीलाई सहयोग गर्दै आइरहेका छन्।

यस्ता छन् उनका प्रतिबद्धता:

– एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधीहरूलाई श्रमिकमैत्री बनाउन पहल गर्ने।

– नेपाल र एसिया प्यासिफिक क्षेत्रबीचको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यापारिक, पर्यटन तथा आर्थिक सम्बन्धसहितको बनाउन।

– एसिया प्यासिफिकका देशहरूमा एनआरएनएको सञ्जाल विस्तार गर्न (जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसिसी गठन गर्न)।

– नेपालका लागि प्रमुख श्रम गन्तव्य मलेसिया, जापान, दक्षिण कोरिया लगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराई रोजगारी सहज बनाउन पहल गर्न।

– विदेशमा रहेका नेपाली नियोगसँग एनआरएनको सहकार्यलाई थप बलियो बनाउन।

– नेपालको पहिचान रहने नेपाली कला तथा संस्कृतिलाई एसिया प्यासिफिक तथा विश्वसामु चिनाउनका लागि गैरआवासीय नेपाली संघको विश्व सञ्जालमार्फत् आवश्यक पहल गर्न।

– श्रमिक गन्तव्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलभ बनाउन पहल गर्न।

– एनआरएनएमा युवा तथा दोस्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चलाउन।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update