Canmandu
इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तमा विजयी

शनिबार भएको उपनिर्वाचनमा इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।

एमालेका नेम्वाङले २७ हजार ७७२ मत पाएका हुन् भने कांग्रेसका खड्काले २१ हजार ९४२ मतमै चित्त बुझाउनुपर्ने स्थिति बन्यो । १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाए।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम- २ बाट निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित भएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए। निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो । इलाम-२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्।

बझाङ प्रदेशसभा-१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।

को हुन् सुहाङ नेम्बाङ

बुबा सुवासचन्द्र नेम्बाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा २०४६ फागुन ६ मा काठमाडौंमा जन्मिएका हुन् सुहाङ नेम्वाङ  ।

आज भर्खरै सम्पन्न इलाम क्षेत्र २ को उपनिर्वाचनमा सुहाङ भारी मतान्तरसहित विजयी भएका छन् । उनले २७ हजार ७ सय ७२ मत ल्याएका छन् ।

काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षका लागि अस्ट्रेलिया गएका सुहाङ कानुन बिएएलएलबी अध्ययनका लागि पुनः नेपाल फर्किए । 

‘काठमाडौं स्कुल अफ ल’बाट उनले एलएलबी र एलएलएम अध्ययन पूरा गरेका छन् । 

आफूलाई जति आवश्यक छ, त्यतिमात्र पढ्न मन पराउने सुहाङको खेलकुदमा लगाब भने निकै राम्रो छ । स्कुले जीवनमा धेरैजसो होस्टलमै जीवन बिताएका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगितामा सहभागी हुनथाले ।

बुबा सुवासचन्द्र नेम्बाङको सल्लाहअनुसार इलाम स्पोर्टिङ डी मेची क्लब स्थापना गरे । यो क्लब बुबाको र आफ्नो सपना भएको सुहाङ बताउँछन् । खेलकुद बुबाको पनि सपना रहेको भन्दै सुहाङ खेल क्षेत्रको विकासमा लाग्नुपर्छ भन्ने कुराले सधैं प्रेरित गर्नेगरेको बताउँछन् । .

बुबाले कहिल्यै पनि आफूलाई आफ्नो प्रभावमा सरकारी जागिर नखुवाउने बताउनेगरेको उनी सम्झिन्छन् । व्यक्ति आफैं सक्षम बन्नुपर्छ भन्ने बुबाकै प्रेरणाले आफूले कहिल्यै पनि बुबाको शक्तिलाई आफूले आड नलिएको सुहाङ बताउँछन् । 

बुबासँग नौ पटकमात्र दसैं–तिहारजस्ता चाडपर्व मनाएको स्मरण गर्दै सुहाङ बुबाले आफ्नो सबै जीवन देश परिवर्तन र पार्टीका लागि नै दिएको बताउँछन् । 

आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकका साझा भएको उनी बताउँछन् । 

‘एकपटक सबै उम्मेदवारसँग बसेर छलफल गर्न मन छ । उहाँहरूले उठाउनुभएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्नु छ,’ सुहाङ भन्छन्, ‘काम नभएको होइन, भएको छ, तर कहाँ कमजोरी भएर ढिलाइ भएको छ, कहाँ पुगेर यहाँका अधुरा योजना पूरा गर्न सकिन्छ, ती काम मैले गर्नुपर्छ ।’ 

इलाम–२ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरण अर्को समस्या देखिएको उनको बुझाइ छ ।  शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा पनि काम गर्नुपर्ने उनका प्राथमिकता छन् । 

‘यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्या पाइएको छ, भोट दिने आशीर्वाद दिइरहँदा यहाँका बुबा–आमा, दाजुभाइ, दिदी–बहिनीले झारेको आँसुको ऋण तिर्नु छ,’ उनी भन्छन् ।

अब इलामबाट टाढा जान नसक्ने भन्दै सुहाङले ‘नीति निर्माणमा मैले निर्वाह गर्ने भूमिका त छँदैछ, यहाँका काम र योजनालाई माथिबाट अनुमोदन गराउने विषयमा काठमाडौं जानुपर्छ, आउनुपर्छ,’ उनले भने, ‘म सधैं इलामबासीसँगै हुन्छु । हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई मात्र होइन, इलामलाई नै एक परिवार सम्झिनुहुन्थ्यो, मैले भुलेको छैन । इलामबासी सबैलाई एउटै मालामा बाँध्ने उहाँको सपना मैले पूरा गर्नुछ ।’ 

अहिले आफूलाई इलाम नै आफ्नो परिवारझैं लाग्नेगरेको उनी सुनाउँछन् ।

‘बुबाले आफ्नो पार्टीलाई माथि उठाउनुभयो, यहाँका बासिन्दाले बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशीर्वाद दिनुभयो,’ उनले सुनाए, ‘यो निर्वाचनमा सहभागी हुने इलाम–२ का सम्पूर्ण मतदातालाई यहींबाट धन्यवाद भन्छु । निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र मेरो पार्टी पंक्तिलाई नमन गर्छु । हरेक पलमा नागरिकमा सूचना दिन खटिरहने प्रिय सञ्चारकर्मीलगायत सबैलाई हार्दिक धन्यवाद दिन्छु ।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update