Canmandu
इलाम २ मा १९ मध्ये रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

इलाम क्षेत्र २ को उपनिर्वाचनका १९ उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ । 

कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनीहरूको धरौटी गुमेको हो । १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेकामा नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिममात्र जमानत जोगाउन सफल भए । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत १० दल र छ स्वतन्त्र उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन् ।

यो क्षेत्रमा कुल सदर मत ६९ हजार ३ सय ७४ छ । यसको १० प्रतिशत ल्याउन छ हजार तीन सय हाराहारी चाहिन्छ । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए । 

राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले ४०४, जनमत पार्टीका प्रेम थाम्सुुहाङले ११८, नेकपा (एस)का जितबहादुर राईले ४०८, नेपाल मजुदर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, मंगोल नेसनल अर्गनाइजेसनका मणि लिम्बूले ८१६ मतमात्र ल्याएर धरौटी गुमाए । 

राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल जनता दलका रेशबहादुर सुनुवारले २०६, नेसनल रिपब्लिकन नेपालका धन रानामगरले ३६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम साहले ४३ मत ल्याए । उनीहरूको पनि धरौटी बचेन । 

स्वतन्त्र उम्मेदवारहरू अर्जुनविक्रम शाहीको ५५, डाकप्रसाद गौतमको १४, दीपेश बोहोराको २१, मनोज निरौलाको १२, योगेन्द्र गुरुङको ४ र राज बस्यालको ३८ मत आएको छ । उनीहरू सबैले धरौटी गुमाएका छन् । 

आज बिहान सकिएको मतगणनामा नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ११ हजार ४ सय ५७ मत आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update