Canmandu
कार्यक्रमको बाहनामा अस्ट्रेलियामामा मानव तस्करी कहिलेसम्म?

गत जनवरीदेखि जुलाइसम्म इन्टरटेन्टमेन्ट भिसा (सवक्लास ४०८) मार्फत २ सय २८ जना कलाकार अस्ट्रेलिया प्रवेश गरेका छन्।

हालै सार्वजनिक भएको एक तथ्यांक अनुसार पछिल्लो ६ महिनामा यसबाहेक खेलकुदका नाममा ५ जना कराते खेलाडी अस्ट्रेलिया आएका छन्। 

कार्यक्रमका लागि कलाकार बनेर आएका करिब एक चौथाइ नक्कली कलाकार भने अस्ट्रेलियामै भिसा परिवर्तन गरेर बस्न थालिसकेका छन्।  यस्तै खेलाडी बनेर आएका ४ मध्ये दुई जना मात्र स्वदेश फर्किए।

एउटा कार्यक्रमको नाममा आएर अर्को प्रयोजनमा रहनु नैतिक रूपमा गलत प्रकृया भए पनि केही एजेन्टहरूले विद्यार्थी बन्न नसकेका र अस्ट्रेलिया आउन चाहनेलाई मोटो रकम लिएर यस्ता कार्यक्रममार्फत अस्ट्रेलिया भित्राउने गरेका छन्।

यहाँ आएपछि पढ्न नसक्नेलाई अंग्रेजी कक्षा, पढ्न र लेख्न सक्नेलाई डिप्लोका विद्यार्थी बनाउने पूर्व योजना अनुरूपनै ल्याइन्छ। 

कोरोना कहर समाप्तीसँगै अस्ट्रेलियामा साना तिना नेपाली मनोरञ्जनात्मक कार्यक्रम भए पनि यतिको संख्यामा नेपाली कलाकार सहभागी भएको कुनै कार्यक्रम सुनिएको छैन।

‘तीज र त्यसअघि छिटपुट समाजका नाममा केही कार्यक्रम नभएका होइनन् तर एकाएक २२८ जना कलाकार अस्ट्रेलिया आएर कस्तो खाले कुनै सांगीत र मनोरन्जन पस्के भन्ने कुरा सबैलाई आश्चर्य लाग्नसक्छ’, एजुकेशन तथा माइग्रेशन एजेन्टको छाता संस्था अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्सका अध्यक्ष भुपाल सिटौलाले भने, ‘अध्यागमन विभागको तथ्याकंलाई हेर्ने हो भने मुश्किलले पचास जनाको संख्यामा कलाकार र अरू गैर कलाकार भित्र्याइएको आशंका गरिएको छ।’ 

मेला र महोत्सवको नाममा मान्छे अस्ट्रेलिया छिराउने खेल नयाँ होइन। कहिले चलचित्रको शुटिङ त कहिले चलचित्रको प्रर्दशनको नाममा एकपछि अर्को कार्यक्रमको नाम गरेर मानिसहरू अष्ट्रेलिया भित्रदै आएका थिए।

एकाएका कोरोना समाप्तीसँगै अष्ट्रेलियाको बोर्डर खुलेपछि पछिल्ला तीन महिनामा जुन रूपका कार्यक्रममा बढोत्तरी भए  सोही संख्यामा गैर कलाकारको प्रवेश भएको छ। यसले समाजमै एक किसिमको तरंग पैदा गरेको छ। 

महिला गायिकाको मेकअपम्यान भएर एक कार्यक्रममा अष्ट्रेलिया छिरेकी एक युवती कलेज भर्नाको लागि कन्सलटेन्सी पुगेकी थिइन्। ती युवती आफ्नो भिसालाई विद्यार्थी भिसा बनाउन कन्सल्टेन्सी पुगेकी थिइन्।

‘पछिल्ला केही कार्यक्रममा अस्ट्रेलिया छिरेका व्यक्तिहरू विद्यार्थी भिसा र प्रोटेक्सनका लागि सिड्नीका कन्सलटेन्सी धाइरहेका भेटिन्छन्। तर व्यक्तिगत गोपनियताको सवाल र व्यवसायीक धर्म अनुरूप आफूहरूले त्यसमा बोल्न मिल्दैन’, एक शैक्षिक परामर्शदाताले सेतोपाटीसँग भने।

मुलुकको प्रतिष्ठामै आँच आउने गरी यस्ता गैर जिम्मेवार काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्सका अध्यक्ष सिटौला भन्छन्।

‘यस्तो प्रवृतीले भोलिका दिनमा कलाकार मात्र होइन, प्यारेन्ट्सलाई ल्याउन समेत मुश्किल हुन्छ। सांगीतिक कार्यक्रम गर्नेलाई जिम्मेवार बनाउन भिसा कन्डिसन र डिपोजीट राख्न लाउने र कलाकार लगायतको टोलीलाई फर्किने आधार सहितको भिसा प्रकृयाको थालनी गरिनुपर्ने अहिले टड्कारो आवश्यकता हो’, सिटौलाले भने।

जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष इथान शाक्यले पछिल्लो गतिविधिले नेपाली समाजकै बेइज्जत भएको भन्दै यसको रोकथाममा सबै अगाडि आउनुपर्ने बताए। 

यसरी इभेन्ट कम्पनीको नाममा मानव तस्करी गर्नेविरूद्ध नेपाली समाज, संघ संस्था अगाडि आउनुपर्ने उपाध्यक्ष शाक्यले बताए। ‘यो सरासर अपराध हो, कार्यक्रमको नाममा मोटो रकम असुलेर अस्ट्रेलिया भित्र्याउने गिरोहविरुद्ध अब सच्चा इभेन्ट्स कम्पनीहरु पनि अगाडि आउनुपर्छ’, शाक्यले भने। 

उनले यस्ता कार्यक्रममा झन्डै चालिस लाख डलरको खेलो भइसकेको आशंका गरे। ‘यस्ता कार्यक्रममा ४० लाख डलरभन्दा बढीको खेलो भइसकेको छ। यी सबै पैसा हुन्डी मार्फत नेपालबाट अस्ट्रेलिया भित्रिरहेका छन्।  जुन राज्यको लागि पनि चुनौती हो’, उनले सचेत गराए। 

नेपाली समाजका पुराना माइग्रेसन एजेन्ट निरज श्रेष्ठले यस किसिमको प्रवृतीले मुलुकको छबीमाथि प्रश्न चिन्ह खडा गर्ने बताए।

‘सरकारको लुप होलको फाइदा लिएर भिसा ट्रान्सफर त होला। तर यसले मुलुकलाई हेर्ने दृष्टिमा फरक पार्छ। यति मात्र होइन भोलिका दिनमा यस्तो प्रवृत्तिले गैर कानुनी रूपमा बस्नेको संख्यामा बृद्धी हुने, प्रोटेक्सन भिसामा बृद्धी हुने लगायतका कार्यले हाम्रो समाज र व्यवसायलाई समेत असर पर्नसक्छ’, एकाका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update