Canmandu

 

अस्ट्रेलियामा पर्यटक वा कलाकारका रुपमा भ्रमण भिसामा आउने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका विदेशी नागरिकले पुन विद्यार्थी भिसाको आवेदन दिन नपाउने अस्ट्रेलियन सरकारले जानकारी दिएको छ ।
यसपहिले नेपाल लगायतका देशबाट कलाकार र भ्रमण भिसामा अस्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन व्याप्त थियो । यसैगरि निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर लामो समय बस्ने र टिक्ने विध्यार्थीको संख्या समेत व्यापकता थियो । 
कोभिडको महामारीपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अस्ट्रेलियाले अझ थप कडाई गरिने संकेतपनि गरेको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् । 
अस्ट्रेलियन गृह प्रशासन मन्त्री क्लेयर ओनिलले आज थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटागोरी (सबक्लास ६०० र ४८५) मा रहेकाले समेत अस्ट्रेलियाबाट विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएकी हुन् । उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन गर्न भने पाउनेछन् ।
यहाको निर्वाचन नजिकिदैजाँदा अस्ट्रेलियाको लेबर सरकारले यहाँको विदेशी विद्यार्थीको संख्या कम गर्नका लागि कोभिड पश्चात धेरै नियम परिवर्तन गरेको थियो । लेबर सरकारले पछिल्लो समय प्रवासी विध्यार्थी र समुदायको बढोत्तरीका कारण पीआरमा पनि कडाइ गरेको छ । पछिल्ला केहि बर्ष हवात्तै नेपाली विध्यार्थीहरुको संख्यात्मक रुपमा बृद्धी भएपनि पछिल्लो ६ महिनादेखि भिषा प्रतिसत हवात्तै घटेको छ । राम्रा र मंहगा बिश्वबिद्यालयहरुमा भिषा लागेता पनि भेट र अन्य निजी कलेजहरुमा विध्यार्थीहरुको उपस्थीती नगन्य हुन थालेको छ । जसको मारमा शैक्षिक व्यबशायी र परामर्शदाताहरु परेका छन । नेपालीहरुको स्वामित्वमा मात्र अस्ट्रेलियामा करिब एक सयको हाराहारीमा निजी कलेज तथा प्रशिक्षण केन्द्रहरु सन्चालनमा रहेका छन । 

अस्ट्रेलियामा कोरोना महामारी पश्चात उच्चशिक्षाका लागि आउने अन्तराष्ट्रीय विद्यार्थी संख्या ह्वात्तै बढेको छ । यहाँको सरकारी 
तथ्यांकअनुसार अहिले ७ लाख ४० हजार अन्तर्राष्ट्रीय विध्यार्थीहरु विद्यार्थी भिसामा रहेका छन् । यहाँ अध्ययनरत विदेशी विद्यार्थीमा नेपालीको कुल संख्या सत्तरी हजारको हारहारी रहेको आधिकारिक तथ्यांक छ । यो अस्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको महत्वपुर्ण अंशका रुपमा मानिन्छ । सरकारी तथ्यांकअनुसार अहिलेपनि नेपाली विद्यार्थीको संख्या चीन र भारतपछि तेस्रो रहेको छ । अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई दुर्गम क्षेत्रमा जानका लागि प्रेरित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम ल्याएको भएपनि अहिलेपनि अधिकांश विद्यार्थी सहरीक्षेत्रमा नै बसोबास गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update