Canmandu
एनआरएन अस्ट्रेलियाले सीडनीमा आफनै घर किन्यो 

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया(एनआरएनए)ले सिड्नीमा आफ्नै कार्यालय स्थापना गर्न सफल भएको छ । पाँच लाख ८८ हजार डलरमा खरिद गरिएको एनआरएन अस्ट्रेलियाको भवनको एक कार्यक्रम बिच न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले उदघाटन गरे ।
एनआरएन अष्ट्रेलियाले आफ्नो प्रशासनिक र अन्य कार्यहरु अबदेखि आफ्नै भवनवाट सञ्चालन गर्ने भएको छ । न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यूसाउथवेल्सका प्रिमियर मिन्सले नेपाली समूदायको खुलेर प्रशंसा गरे । नेपालीको बाक्लो उपस्थीती रहेको रकडेल, कोग्रालाई आफनो राजनितीक क्षेत्रका रुपमा रोजेका प्रीमियर क्रिस मिन्सले अष्ट्रेलियालाई आफ्नो घर बनाउन सफल सबै नेपालीहरुलाई बधाई समेत दिदै अस्ट्रेलियामा नेपालीको पहिचान मिहिनती र कर्मठ समुदायका रुपमा रहेको बताए । कार्यालय भवन खरिदका लागि २ लाख १० हजार डलर अस्ट्रेलियन सरकारवाट अनुदान समेत प्राप्त भएको छ । 
कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएन अष्ट्रेलियासँग विगतमा झै हातेमालो गर्दै काम गर्न नेपाल सरकार, नेपाली दूतावास तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष अनिल पोखरेलले एनआरएन यस अभियानमा साथ दिने सबै व्यक्तीत्वहरु धन्यवादको पात्र रहेको बताउदै अस्ट्रेलियन राजनितीक दल सहयोगी सांसदहरु धन्यवादको पात्र रहेको बताए । समूदायको एकता र साथ अनि सहयोगले नै एनआरएनले आफ्नै भवन जोडन सफल भएको बताए  । एनआरएनको कुनैपनि कार्यक्रममा न्यूसाउथवेल्सको प्रिमियर उपस्थित हुनु महत्वपुर्ण क्षणका रुपमा रहेको भन्दै प्रमुख अतिथि क्रिस मिन्सलाई सरकारको तर्फबाट गरिएको सहयोगका लागि आभार व्यक्त गरे । आगामी दिनमा नेपाली समूदायमा आइपरेका विभिन्न समस्याहरुको समाधानका लागि हातेमालो गर्न एनआरएन तयार रहेको बताउदै अबदेखि सबैको समस्या फुकाउने एउटा थलो स्थापना भएको सुनाए । 

कार्यक्रममा न्यूसाउथवेल्सको संसदमा गठन गरिएको पार्लियामेन्ट्री फ्रेन्डस अफ नेपालकी उपसंयोजकद्धय जुलिया फिन, ज्याकी मुन्रो, परामाटाको प्रतिनिधित्व गर्दै सांसद डोना डेविसले पनि नेपाली समुदायका लागि एनआरएनले गरेको प्रयासका लायि वधाइ ज्ञापन गरेका थिए ।
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरु मन केसी, गोवा कटवाल, ध्रुव सुवेदी, गणेश केसी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, टोनु गोथाने, केशव कँडेलले पनि शुभकामना दिँदै संस्थाले आफ्नै कार्यालय स्थापना उपलब्धीमूलक सफलता भएको बिचार ब्यक्त गरे । यसलाई सबैले अपनत्व महसूस हुनेगरी अगाडि बढउन उनीहरुले सुझाव दिए ।
कार्यक्रममा न्यूसाउथवेल्समा रहेको नेपाली समूदायका अग्रजहरु पुर्व महाबाणिज्यदुत दिपक खड्का , कानुन व्यबशायी शम्सेरसिंह थापा ,एनआरएन अभियन्ता भवानी ओली, युवा व्यबशायी सन्जिव शर्मा लगायतले एनआरएनको यस कार्यको खुलेर प्रशंसा गरेका थिए । 
उदघाटन समारोहमा ब्रिसबेन, भिक्टोरिया लगायतका राज्यबाट पनि सहभागी हुन एनआरएनका प्रतिनिधि आएका थिए । मेरिल्याण्ड्समा रहेको कार्यालय भवनको साँचो अध्यक्ष अनिल पोखरेलले न्यूसाउथवेल्स संयोजक विनोद कुँवर र नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष संगीता चपागाईंलाई हस्तान्तरण गरेका थिए ।  एनआरएन न्यूसाउथवेल्सका सचिव कल्याण खड्काले संचालन गरेको कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अर्जुन गौतमले आफ्नै भवन भएपछि अबदेखि नेपाली भाषा कक्षा , गित संगितको प्रशिक्षण र सामूदायिक संघसंस्थाको कार्यक्रम गर्नेस्थलका रुपमा यसलाई अगाडि बढाइने योजना रहेको बताए । 


 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update