Canmandu
अष्ट्रेलियासहित ५ देशका राजदूत फिर्ता, १८ देशमा नयाँ सिफारिस

सरकारले अष्ट्रेलियासहित पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारले अष्ट्रेलियाका राजदूत कैलाशराज पोखरेल, चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

सरकारले अष्ट्रेलियाका लागि कांग्रेस नेतृ कान्ता रिजाललाई सिफारिस गरेको छ। यस्तै भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ।

अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका एक मन्त्रीले बताए।

त्यस्तै दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे र मलेसियामा नेत्र तिमल्सिना सिफारिस भएका छन्। चीनमा कृष्णप्रसाद ओली र जर्मनीमा शैल रूपाखेती सिफारिस भएका छन्।

पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सफारिस भएका छन्। स्पेनमा सनिल नेपाल र साउदी अरबमा नरेश विक्रम ढकाल सिफारिस भएका छन्।

इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल सिफारिस भएका छन्। सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

को हुन् अष्ट्रेलियामा सिफरिस रिजाल?

kanta-1722314821.jpg
 

नेपाली काँग्रेसको केन्द्रीय सदस्य रहेकी उनी केन्द्रीय नीति तथा प्रशिक्षण विभागमा सदस्य थिइन् । उनी कांग्रेसका पुराना नेता गणेशप्रसाद रिजालकी छोरी हुन् । पाँचथरको साबिक आङसराङ १ मेहेलबोटेकी उनी उनी लामो समयबाट कांग्रेसको राजनीतिमा सक्रिय हुँदै महासमिति सदस्य समेत भएकी थिइन् ।

रिजाल पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेद्धार समेत थिइन् । रिजालले महिला विकास अधिकृतको रुपमा समेत काम गरेको अनुभव छ । ०४९ सालमा उनी तेर्हथममा पहिलो महिला विकास अधिकृत भएर काम गरेकी थिइन । भारत कालिम्पोङमा स्कुले शिक्षा लिएकी उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट आइकमदेखि एमवीएससम्मको अध्ययन गरेकी थिइन् ।

सन् २०१२ देखि ०२२ सम्म सेन्टर फर कन्सोलिडेसन अफ डेमोक्रेसी नेपालको महासचिव रहेको रिजाल काठमाडौंको इकेदा इन्टरनेशनल स्कुलको संस्थापक प्रिन्सिपल समेत हुन् । ०३८ सालमा जयनारायण आदर्श माबिमा नेविसंघ इकाइ गठन गरेर राजनीतिमा आएकी उनी ०४६ सालको आन्दोलनमा शिक्षित महिला बरोजगार संघ खोलेर महिला सहभागिताको बहस चर्काएकी थिइन् । नेदरल्याण्डमा महिला अधिकार र शसक्तीकरण सम्बन्धी अध्ययन समेत गरेकी छिन् ।

महिलाहरुको अवैध ओसारपसार नियन्त्रणसम्बन्धी युएनडिपीको परियोजना प्रमुख भएर काम गरिसकेकी उनले साउद एसियन महिलाहरुको राजनीतिक शसक्तीकरण सम्बन्धी एक फोरममा आठवटा देशहरुमा तर्फतबाट संयोजकको भूमिका समेत निर्वाह गरेकी थिइन । उनका बाबु गणेशप्रसादले ०१५ सालको संसदीय निर्वाचनमा चुनाव जितेका थिए । ०१७ सालमा तत्कालीन राज महेन्द्रले वीपी कोइरालाको सरकारलाई अपदस्थ गरेपछि गणेशप्रसाद पनि भारतमा निर्वासित जीवन विताएका थिए ।

विस.२०७९ असार १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले हाल फिर्ता बोलाइएका पोखरेललाई नियुक्त गरेकी थिइन भने सोही मितिमा रिजाललाई पनि इजरायलका लागि राजदूत नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update