Canmandu
बेलायतमा अकासियो महंगी

बेलायतमा मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएको छ । खासगरि, खाद्यान्न तथा उर्जाको बढ्दो मूल्यवृद्धिले मुद्रास्फीति यति उच्च भएको हो । यसअघि सन् १९८२ फेब्रुअरीमा दोहोरो अंकले वृद्धि भएको थियो ।

बेलायतको सरकारी तथ्यांक कार्यालयले बुधवार प्रकाशित गरेको विवरणमा मुद्रास्फीति मापन गरिने ‘कन्जुमर प्राइस इन्डेक्स’ वार्षिक १० दशमलब १ प्रतिशतले बढेको उल्लेख छ ।

उर्जा, खाद्यान्न, मदिरा, चुरोट बाहेकको मापन गर्दा खास मुद्रास्फीति ६ दशमलब २ प्रतिशत छ । गत जुन–जुलाई बीचमा खाद्यान्नको बढ्दो मूल्यवृद्धिले गर्दा सबैभन्दा धेरै मुद्रास्फीति हुन योगदान पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न बैंक अफ इंगल्याण्डले ६ पटक ब्याजदर बढाइसकेको छ । बैंकले आउदो अक्टोबरमा मुद्रास्फीति १३ दशमलब ३ प्रतिशत पुग्ने र बेलायतमा आर्थिक मन्दी हुने प्रक्षेपण गरेको छ । मुद्रास्फीति यसअघि अनुमान गरिएभन्दा अझ धेरै १५ प्रतिशत पुग्ने आकलन पनि गरिएको छ ।

बेलायतमा अर्को वर्षको शुरुवातमा वार्षिक औसत घरको उर्जा बील १९७१ पाउण्डबाट बढेर ४२६६ पाउण्ड हुने भविष्यवाणी गरिएको छ । यसले जनजीविकामा ठूलो असर पर्नेछ ।

बेलायतमा यस वर्षको दोश्रो चौमासिकमा कुल तलव ३ प्रतिशतले घटेको पनि बेलायतको सरकारी तथ्यांक विभागले जनाएको छ । यति थोरै आम्दानी बेलायतको रेकर्डमा नै थिएन । यसले औसत बेलायती जनताको जीवनस्तर निकै खस्कने अनुमान गरिएको छ ।

अस्थिर राजनीतिबीच बेलायतमा बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न निर्णायक राजनीतिक नेतृत्वको अभाव रहेको विष्लेषकहरुले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update