Canmandu
भारतले जिम्बावेलाई १० विकेटले हरायो

भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर शिखर धवन १ सय १३ बलमा ९ चौकासहित ८१ रनमा अविजित रहे । शुभमन गिल ७२ बलमा १० चौका र १ छक्कासहित ८२ रनमा अविजित रहे ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ४०.३ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । कप्तान रेजिस चकभा ५१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाए ।

ब्राड इभान्स २९ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । रिचर्ड नगभा ४२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । नवौं विकेटका लागि नगभा र इभान्सले ७० रनको साझेदारी गर्दै जिम्बावेको शाख जोखाए ।

भारतका तीव्र गतिका बलर दीपक चाहरले ७ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णाले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ७.३ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update