Canmandu
गीत संगीतमा हरेस नखाएका नरेश अस्ट्रेलियामा चम्कँदै

आधुनिक संगीतका पारखी नरेश रेग्मी लोकलय भनेपछि हुरूक्कै हुन्छन्। 

नेपालमै सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका उनलाई विदेशको मोहले तान्यो र अष्ट्रेलिया आइपुगे।

सात वर्षअघि नेपालमा विष्णु माझीसँग ‘बाध्यतामा हामी छुटेको...’ गीतबाट लोक संगीतमा चिनिएका नरेशले त्यसपछि ‘अंगालोमा बेर...’ र देवी घर्तीसँग ‘उनकै यादमा पागल हुन्छु...’ भन्ने लोकगीतमार्फत आफूलाई दर्शक स्रोतामाँझ चिनाउँदै अगाडि बढेका थिए। 

अकस्मात अष्ट्रेलिया आए पनि संगीतलाई भुगोलले छेक्न सक्दैन भन्ने उनको सोचलाई यहाँको परिवेशले छेकेन। केही समय चुपचाप बसेका उनी बिस्तारै माहौल बुझ्दै गएपछि विदेशको फरक परिस्थिति र अलग वातावरणमा पनि हरेश खाएनन् निरन्तर लागिरहे। 

नेपालमा कयौं लोक तथा आधुनिक गीतसंगीतमा अभिनयसमेत गरेका उनी आफूलाई निखार्दै गए। प्रवासमा आएर पनि नेपाली गीत संगीतमा आफ्नोपन खोज्न र दर्शक रोज्न लागिपरे।

पछिल्लो समय उनी अस्ट्रेलियाको नेपाली समाजमा परिचित गायकका रूपमा छबि बनाइसकेका छन्। 

‘म सास बन्न पाएँ...’ भन्ने नरेशको पछिल्लो प्रस्तुती अहिले नेपाली आधुनिक गीतको लहरमा लोकप्रीय छ। करिब  चौध लाख दर्शकले हेरिसकेको यो गीतमा पुष्प खडका र एलिजा गौतमले कलाकारिता प्रस्तुत गरेका छन्। 

गत वर्ष उनले देवी घर्तीसँग गाएको ‘आयो दसैं..’ बोलको लोकगीत पनि निकै चर्चामा थियो। 

विदेशमा बसेर स्वदेशको चाडपर्वमा रमाउन नपाउनुको पीडभावमा गाइएको यो गीत करिब चार लाख दर्शकले हेरिसकेका छन्। 

मुख्य रूपमा लोकलयलाई आफ्नो करियर बनाउने उद्धेस्यका साथ काठमाडौ छिरेको दाङका रेग्मीले बिस्तारै संगीतलाई अगाडि बढाउन थाले।

संघर्षसँगै उनका सफलताका बाटाहरू कोरिदै थिए। 

बाध्यताका कयैन पाटाले आफ्नो संगीतका बाटोमा अवरोध गरेपछि बाध्य भएर बिदेसिने निर्णयमा पुगेको नरेशले बताए। 

जो कोहीलाई पनि सम्मान दिन जान्ने र मुस्कानमा रम्ने यी युवा गायक यतिखेर अस्ट्रेलियाका भिन्न शहरहरुमा समेत आफ्ना कार्यक्रममा ब्यस्त छन्। 

भर्खरै मात्र मेलवर्नमा एकल प्रस्तुती दिएर फर्केका नरेश भन्छन्, ‘विदेशमा आइएको छ । माम र दामका लागि पनि काम गर्नै पर्‍यो तर पनि गीत संगीतलाई भने माया मारेको छैन र छायाँ बनेर भने पनि लागिपरेको छु।’

 

पछिल्लोसमय आफ्नो गीतले  निकै चर्चा पाएपछि उनी थप हौसिएका छन्। ‘विदेशमा आएर दामका लागि मात्र होइन कला र गलाको लागि पनि संघर्ष गरिरहेको छु र रमाएको पनि छु’, उनले आफ्नो अनुभव सुनाए। 

भबिष्यमा नेपाली कला संस्कृति र गीत संगीतलाई विदेशमै बसेर पनि जर्गेना गर्न सकिन्छ भन्ने उद्देस्य आफूले बोकेको बताए।

यसै क्रममा आफूले सिड्नीमा राप्ती इन्टरनेशनल म्युजिक अर्वाडसमेत आयोजना गरेर नेपाली कलाकारलाई सम्मान गरेको बताए।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update