Canmandu
नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित

तीव्र गतिका बलर नसिम शाहको पाँच विकेटको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको छ ।

जितका लागि २ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका टप कुपरले १ सय ५ बलमा ४ चौकासहित सर्वाधिक ६२ रन बनाए । ओपनर विक्रमजित सिंहले ८५ बलमा ७ चौकासहित ५० रनको योगदान दिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका नसिम शाहले १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । नसिम शाहले ओडिआई करिअरको पहिलो पटक पाँच विकेट लिएका हुन् । मोहम्मद वासिम जुयिनरले ९.२ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ४९.४ ओभरमा २ सय ६ रनमा अल आउट भएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय २५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर फखार जमान २६, अघा सलमान अली २४ र मोहम्मद नवाज २७ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डि लिडेले सर्वाधिक तीन विकेट लिए । भियिन किंग्माले दुई विकेट लिए ।

पाकिस्तान पहिलो खेलमा १६ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । पाकिस्तानले अव एसिया कपमा २८ अगष्टमा भारतसँग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  २२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update