Canmandu
राजदूतले भने- हुण्डीबाट नेपाल पैसा नपठाउनू

अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियामा रहेका नेपालीलाई आधिकारिक रूपमा बैंकिङ प्रणालीमार्फत पैसा पठाउन र ल्याउन आग्रह गरेका छन्।

कार्यभार सम्हालेको केही समयपछि राजदूत पोखरेलले हुन्डी नेपालमा अवैध भएको भन्दै बैंकिङ प्रणालीमार्फत मात्र पैसा ल्याउन र नेपाल पठाउन विशेष अनुरोध गरेका हुन्। 

‘विदेशमा रहेर मिहेनतले कमाएको रकम जसरी नेपालबाट आउँदा बैंकिङ च्यानलमार्फत ल्याउनुभयो, त्यसैगरी यहाँबाट नेपाल पठाउँदा पनि बैंकिङ च्यानल मार्फतनै रकम पठाउन सबैमा अनुरोध गर्दछु’, राजदुत पोखरेलले भने। 

लामो समय रिक्त रहेको दूतावासमा कार्यभार सम्हाल्न भर्खरै अस्ट्रेलिया आइपुगेका राजदुत पोखरेलले सबै नेपालीसँग हातेमालो गरेर मुलुकको हितकालागि नेपाल-अस्ट्रेलियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने बताएका छन्। 

राजदूत पोखरेलले दूतावासमा आवश्यक जनशक्ति कमि भएकाले समयमै कार्य सम्पादन गर्न कठिनाइ भइरहेको बताए।

राजदुत पोखरेलले सकारात्मक सोचको विकास गर्दै आफू सबै माझ समान रूपमा सहभागिता जनाउने अभियानमा लाग्ने समेत बताएका छन्। 

दूतावासमा कामको सिलसिलामा आउने सबै नेपालीसँग सल्लाह र सुझाब लिँदै आएको र सानो टिम भए पनि सूचना र प्रविधिको प्रयोगबाट कसरी सहज सुविधा प्रदान गर्ने विषयमा आफू लागि परेको पोखरेलले जनाए।

‘यहाँहरूलाई थाहा नै छ, हाम्रो राजदूतावास सानो छ। यहाँ बस्ने नेपालीको संख्या बढेको छ तर दूतावासको जनशक्तिचाहिँ यथावत् छ’, उनले भने, ‘सूचना प्रविधिको प्रयोग गरेर पाउन सकिने सेवालाई अझै सजिलो बनाउने हाम्रो प्रयास निरन्तर जारी छ।’

राजदूत पोखरेलले पासपोर्टको प्रक्रिया केही लामो भएकाले समय सकिन एक  वर्षभन्दा कम भएमा तत्काल आवेदन दिन आग्रह गरेका छन्।

‘आफ्नो पासपोर्टको म्याद सकिने मिति आजै हेर्नुहोस्। यदि एक वर्षभन्दा कम समयमा म्याद सकिने भए नवीकरणका लागि अप्लाई गरिहाल्नुहोस्। समयमा पासपोर्ट  बनेर आउँछ’, उनले भने, ‘थोरै म्याद बाँकी हुँदा अत्यास लाग्छ, प्रक्रिया लामो लाग्छ अनि सबैसँग रिस उठ्छ। वेभसाइटसँग पनि रिस उठ्छ। त्यसैले बेलैमा अप्लाई गरिदिनुस्। नमिलेको क़ुरा हामी पनि निरन्तर सुधार गर्दै जानेछौं।’

अस्ट्रेलिया र न्युजिल्यान्डमा रहेका नेपालीलाई अनुरोध गर्दै राजदुत पोखरेलले आफू अहिले बिभिन्न मुलुकका राजदूत र अस्ट्रेलियन सरकारका पदाधिकारीसँग भेटघाटको क्रममा समेत रहेको जानकारी गराए। 

मगंलबार राजदूत पोखरेलले एनआरएनका पदाधिकारीसँग छलफल गरेका छन्। छलफलको क्रममा एनआरएन आइसीसीका उप महासचिव गणेश केसी, सचिव अभिमानसिंह बस्नेत र ओसेनिया संयोजक दिनेशराज जोशी , उप संयोजक सन्तोष कुवर,आइसीसी सदस्यहरु बुद्धी डल्लाकोटी, पीआर अधिकारी र प्रज्वल भट्टराइलगायतको टोलीसँग छलफल गरेका थिए।

उक्त छलफलमा पनि राजदूत पोखरेलले हुन्डीको विषयमा गम्भीर चासो राखेका थिए। नेपालबाट विद्यार्थीमार्फत दुई बिलियन डलर अस्ट्रेलिया भित्रिने र यहाँबाट जाने पैसा भने प्रायः शुन्यको अवस्थामा रहेको भन्दै राजदूतले चिन्ता लिएको सहभागि एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update