Canmandu
लिड्ससँग चेल्सीको लज्जास्पद हार

लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो ।

लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले गोलरक्षक मेन्डीले छलाउन खोजेको बललाई खोस्दै गोल गरेका थिए ।

३७औं मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सको अग्रता दोब्बर पारे । उनले ज्याक ह्यारीसनको फ्रिकिकमा हेडरमार्फत गोल गरेका थिए । ६९औं मिनेटमा ज्याक ह्यारीसनले रोड्रिगोको पासमा गोल गर्दै चेल्सीलाई स्तब्ध पारे । काउन्टर अट्याकमा ड्यान जेम्सले उत्कृष्ट मुभ बनाएपछि लिड्सको गोल सम्भव भएको थियो ।

८५औं मिनेटमा १० खेलाडीमा समेटिएपछि चेल्सीको खेलमा फर्कने सम्भावना पनि टाढियो । यसै समरमा क्लबमा भित्रिएका कालिडु कौलिबाली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

पछिल्लो ६ भेटमा लिड्सले चेल्सीलाई हराउन सफल भएको हो । यसअघि लिड्सले चेल्सीलाई हराउन सकेको थिएन । यसअघि चेल्सीले चार खेलमा जित हात पार्दा एक खेल बराबरी खेलेको थियो ।

जितसँगै लिड्सको ३ खेलबाट ७ अंक पुगेको छ । अपराजित रहेको लिड्सले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । चेल्सीले समान एक जित, हार र बराबरीको नतिजा निकालेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update