Canmandu
अष्ट्रेलियाले पीआर संख्या थप्दै

अस्ट्रेलियाले स्थायी बसोबास भिसालाई वार्षिक २ लाख पुर्‍याउने योजना बनाएको छ। 

यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो।

कोरोना महामारीले करिब दुई वर्ष अस्ट्रेलियाको सीमा बन्द हुँदा थुप्रै व्यवसायीक दक्ष कामदार अभाव भएकाले सरकारले पीआरको संख्या थप्न लागेको हो।

विशेष गरी आइटी, औद्योगिक, स्वास्थ्य, आतिथ्य र वृद्ध स्याहार क्षेत्रका कामदारहरू अस्ट्रेलियामा अभाव छ।

वृद्ध स्याहार केन्द्रमा कर्मचारी अभाव र यस क्षेत्रबाट बढ्दो कामदार पलायनपछि सञ्चालकले सरकारसमक्ष कामदारको माग गरेका छन्।

पछिल्ला तथ्यांक अनुसार वर्षेनि करिब ६५ हजार कामदारले वृद्ध स्याहार क्षेत्र छाड्ने गरेका छन्। यसबाट सबै एज केयरहरू प्रभावित भएका छन्। 

निकै गार्‍हो समयबाट गुज्रिएको यस क्षेत्रको समस्याको भरपाई गर्न अन्तर्राष्ट्रिय कामदारले महत्वपूर्ण भूमिका निभाउन सक्ने उनीहरूको ठम्माइ हो।

दक्ष आप्रवासी कामदार आगमनले यस्ता समस्या केही हदसम्म समाधान हुने उनीहरूले दाबी गरेका छन्।

स्वास्थ्य सेवा प्रणालीमा देखिएको समस्या समाधानका लागि नयाँ प्रकारको भिसा र स्थायीत्वको माध्यमले सहयोग गर्ने यस क्षेत्रका विज्ञहरू बताउँछन्।

‘कामदार अभाव पुरा गर्न अष्ट्रेलियामा थप अन्तर्राष्ट्रिय कामदार चाहिन्छ, यसका लागि विशेष भिसाको आवश्यकता देखिएको छ। कामदार र सिपको सुनिश्चितताका लागि खुला छौ’, रोजगार मन्त्री ब्रेन्डन ओ कोनरले भने, ‘विकासशील देशमध्ये अस्ट्रेलिया कामदार अभावको हिसाबले दोस्रो नम्बरमा भएको आर्थिक सहयोग र विकास संगठनको प्रतिवेदनले पनि देखाएको छ, श्रम बजारमा सिप उपलब्ध गराउन सम्भव भएसम्मका उपायहरू अवलम्बन गर्नुपर्छ।’

महामारी अघि स्थायी भिसाको संख्या १ लाख ९० हजार तोकिएका थियो भने सन् २०१९ मा यो संख्यालाई केही कम गदै सरकारले तीस हजार घटाएर  लाख ६० हजार बनाएको थियो।

कोरोना माहामारीका बेला सीमा बन्दले नयाँ आप्रवासी भित्रन नपाउँदा आप्रवासीको कुल संख्यामा नकारात्मक असर पुगेको थियो।

मन्त्री ओ’कोनरले दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्याउनुका साथै यहीँका कामदारलाई पनि त्यसमा समेटेर लैजानुपर्नेमा जोड दिए।

‘पहिलो काम दक्ष कामदारलाई अस्ट्रेलिया आउन दिने र दोस्रो यहाँका अस्थायी भिसाधारीलाई स्थायी बसोबासका लागि बाटो खुला गर्ने, जसका कारण यहाँ बसेकाले पनि अवसर पाउँछन्’ ,मन्त्री कोनरले भने।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update