Canmandu
अष्ट्रेलियामा दिपेन्द्रले ‘मिलिनियर हट सीट’ मा जिते पचास हजार डलर

अस्ट्रेलियाको नाइन टिभीको कार्यक्रम मिलिनियर हट सीट ( हु वान्ट टु बी अ मिलिनियर) कार्यक्रममा नेपाली युवा तथा शैक्षिक व्यवसायी दीपेन्द्र पौडेलले पचास हजार डलर जितेका छन्। 

अस्ट्रेलियन टिभी च्यानलमा प्रसारण हुने कार्यक्रममा सम्भवत सहभागि भएर नगद पुरस्कार जित्ने दिपेन्द्र पहिलो नेपाली हुन्। 

करिब चार चरणको छनोट प्रकृया पार गरेका उनी अन्तिम चरणको प्रत्यक्ष प्रसारणका लागि मेलवर्न पुगेका थिए। त्यहाँ रहेका अन्य प्रतिस्पर्धीबीचको प्रश्नोत्तरमा पौडेलले बाजी मार्दै पचास हजार डलर पुरस्कार जितेका हुन्। 

दौरा सुरूवाल र कालो भादगाउँले टोपीमा छड्के खुकुरी भिरेर कार्यक्रममा पुगेका पेशाले प्राध्यापक दिपेन्द्रले पैसाभन्दा पनि आफू मुलुकको पहिचान बढाउन प्रतिस्पर्धामा सहभागि भएको बताए। 

मुलुकको पहिचान बढाउने र परिचय दिलाउने सोचका साथ आफू मिलिनियर हट सीटको लामो प्रकृयामा सहभागि भएको भन्दै उनले सबैको साथले नगद पुरस्कार जित्न सफल भएको सेतोपाटीलाई सुनाए।

जाने बेलामा आफूले अस्ट्रेलियामै रहनु भएका सुसुरा बुबाको टोपी लिएर सिड्नीबाट कार्यक्रममा मेलवर्न पुगेको भन्दै उनले शिरको टोपी र सबैको हौसलाले आफू सफल भएको च्वाइस कलेजका प्रमुख कार्यकारी समेत रहेका दिपेन्द्रले भने।

‘यो मेरो जीवनकै पहिलो टेलिभिजन र यति मानिस बीचको सवाल जवाफ थियो। म केही नर्वस पनि भए तर हिम्मत भने हारिनँ र अन्त्यमा मुलुकको नाम राख्न सफल भएँ’, दिपेन्द्रले अनुभव सुनाए। 

६ जना प्रतिस्पर्धी रहेको अन्तिम भिडन्तमा ग्रिक देवताको सम्वन्धमा सोधिएको प्रश्नमा दिपेन्द्रले सही जवाफ दिएर पचास हजार डलर जितेका हुन्।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update