Canmandu
केन्यामाथि नेपालको सहज जित

नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो।

नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए। त्यस्तै आरिफ शेखले अविजित २४ रन जोडे भने ज्ञानेन्द्र मल्लले २३ रन जोडे।

यसैगरी आसिफ शेखले १९ रन बनाए भने रोहित पौडेल १३, आदील अन्सारी २ तथा अविजित पवन सर्राफले १ रन जोडे।

केन्याका लुकास ओलुओच र भिराज पटेलले २÷२ विकेट लिए। नेहिमिहाले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो।

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए। लुकास ओलुओचले अविजित ३० रन जोडे। यस्तै नेल्सन ओढियाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। आदिल अन्सारी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट झारे।

यो जीतसँगै पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ। अब नेपालले भोलि शुक्रबार दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update